देउराली । धनकुटाबाट धरान तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको टाटा सुमो दुर्घटना हुँदा घाइते भएकी  प्रिस्किलाको मृत्यु भएको छ । 

धनकुटा नगरपालिका–९ खुरिलामा जेठ २६ गते बिहान भारतीय नम्बर प्लेटको  टाटा सुमो दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी  धनकुटा नगरपालिका–४ भोटे चौतारा घर भएकी वर्ष १९ की प्रिस्किला तामाङको सोमबार मृत्यु भएको उनका दाजु प्रेम योञ्जनले बताए । 

उनका अनुसार मृतक तामाङको १२ दिन देखी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमबार मृत्यु भएको हो । 

मृतक प्रिस्किला इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत थिइन्, इटहरीमै एक निजी विद्यालयमा अध्यापन गराउँदै आएकी उनी धनकुटा स्थित घरबाट  क्याम्पस र विद्यालय भ्याउने गरी प्रमाणपत्र लिएर बिहान ५ बजे घरबाट निस्केकी थिइन् । 

इटहरी आउने क्रममा बीआर १० एच ४९१० नम्बरको भारतीय नम्बर प्लेटको उक्त टाटा सुमोमा धनकुटा–४ स्कुल डाँडाबाट लिफ्ट मागेर चढेकी उनी करिब २५ मिनेटमा दुर्घटनामा परेकी मोक्तानले बताए । 

सहज बाटोमा दुर्घटना हुनु गाडीमा सवार अन्य सामान्य घाइते हुँदा प्रिस्किला गम्भीर हुनेले दुर्घटना शङ्कास्पद रहेको मोक्तानले बताए । दुर्घटना भएको उक्त गाडीमा प्रहरीले सय किलो भन्दा बढी लागु औषध गाँजा बरामद गरेको थियो ।

५ जना सवार भनिएको उक्त  गाडीमा सवार दुई जना मोरङ जहदा गाउँपालिका–३ का २३ वर्षीय अजय महला र जहदा–४ का २४ वर्षीय सुरेश मुखिया घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, गाडीमै सवार फरार रहेका अन्य दुई जना भारतीय नागरिक रहेको बताइएको छ ।  गाडीमा भारतको कस्माहा गाउँपञ्चायत–३ जोगमुनी ठेगाना भएका श्रवणकुमार यादवको नाममा जारी भएको ड्राइभिङ लाइसेन्स प्रहरीले बरामद गरेको थियो । 

दुर्घटना भएको उक्त टाटा सुमोको नम्बर प्लेट  बिहारको कटियारका सञ्जय यादवको नाममा दर्ता भएको ट्रकको रहेकोले उक्त सुमो चोरीको भएको खुलेको मृतकका भेना विनय मगरले बताएका छन् ।

तस्करीमा प्रयोग भएको गाडी भएकाले र फरार  दुई जना पक्राउ नपर्नुले  दुर्घटनाको कारणमा शङ्का गर्न सकिन दाजु प्रेमले बताए । उनले आफूहरू हिँड्दा पटक पटक चेकिङ हुने गरेको भए पनि नाकाबाट धनकुटासम्म तस्करीका गाडीहरू आउँदा पनि उक्त गाडीको चेकिङ नहुनु दुर्भाग्य रहेको बताए । 

उनीहरूले घटनाको छानबिन हुनुपर्ने र  दोषी उपर कडा कारबाही हुनुपर्ने माग राख्दै नक्कली नम्बर प्लेट भएको तस्करीको गाडीको चेकिङ नहुँदा धनकुटा सम्म पुगेको भन्दै चेकिङमा रहेका प्रहरीको कमजोरी पनि औल्याएका छन् ।