पिकअपको ठक्करबाट शुक्रबार  २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

कोशी राजमार्गको धरान–इटहरी सडक खण्डमा पर्ने चारकोसी झाडीको निर्माणाधीन चाल लेन सडकमा काम गर्ने तीन मजदुरलाई शुक्रबार राती  पिकअप भ्यानले  ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

धरान ८  शनी मन्दिर  दक्षिणमा काम गर्ने रौता  कन्स्ट्रक्सन कार्यरत सप्तरीको सुरुङा नगरपालिका  २ का १८ वर्षीय ज्योतिष सदा ,  विशाल सदा र सिराहाको लहान नगरपालिका १५ का १८ वर्षीय लभ सदालाई ठक्कर दिएका थिए । शुक्रबार राती ९ बजे खाजा खाएर फर्कने क्रममा पछाडिबाट ठक्कर दिएको त्यहाँ कार्यरत लहान नगरपालिका२ का १६ वर्षीय नारद सदाले बताएका छन् । 

पिकअपको ठक्करबाट घाइते भएका उनीहरूलाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्योतिष र विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  अर्का घाइते लभ सदाको प्रतिष्ठानको सघन कक्ष (आइसीयु) मा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार ठक्कर दिने पिकआपको तत्काल पहिचान नखुलेकोले खोजी कार्य भइरहेको छ । दुर्घटनापछि इटहरी तर्फ फरार भएको उक्त पिकअपको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।