एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित ‘एसईई स्पिकर’ तेस्रो संस्करणको शनिबार सम्पन्न सेमिफाइनलबाट उत्कृष्ट १० विद्यार्थी फाइनलमा प्रवेश गरेका छन् ।

उत्कृष्ट १० विद्यार्थीमा शारदा बालिका माविकी अनुष्का राई, धरान आदर्श माविका सुदर्शन ढुंगेल, नवोदय विद्या मन्दिरकी सोप्रिया राई, चन्द्र संस्कृत माविका सागर दाहाल, नडाहास्थित जनता माविकी अनिता कार्की रहेका छन् । 

यस्तै पानवारीस्थित सरस्वती माविका दिनेश खरेल, विपना मग्राँती र स्नेहा निरौला, कालाबञ्जरस्थित जडेज माविकी मुना कटुवाल र भरौल बाल मन्दिरकी एन्जिला कार्की समेत फाइन प्रवेश गरेका छन् । 

र्‍याडिकल लाइट नेपाल प्रालि धरानको आयोजनामा गत जेठ ११ गते सम्पन्न भएको दोस्रो चरणको प्रतियोगिताबाट १४ जना सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनल धरान–१३ वडा कार्यालयस्थित ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको भवनमा भएको प्रालिका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । 

SEE Speaker_blastkhabar

धरान–१३ का  वडा अध्यक्ष नेत्रप्रसाद काफ्ले प्रमुख आतिथ्यता रहेको स्पर्धाको सेमिफाइनलमा सहभागीले ‘सामाजिक संजालको प्रयोगले विद्यार्थीमा पर्ने प्रभाव’ शीर्षकमा बोलेका थिए । ग्राण्डफिनाले आगामी असार–२ गते शनिबार हुने आयोजकले जनाएको छ ।

एसईई दिएर बसेका विद्यार्थीहरुको खाली समयको सदुपयोगका लागि उनीहरुको व्यक्तित्व र नेतृत्व विकासमा टेवा पुर्‍याउन ‘प्लेटफर्म’ प्रदान गरेको प्रालिका अध्यक्ष कार्कीले बताए । 

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी  क्याम्पसका उप–प्राध्यापक  राजेश विद्रोही र सहिद स्मृति माविका अंग्रेजी शिक्षक टङ्क भट्टराई रहेका छन । ‘एसईई स्पिकर’को विजेताले २० हजार रुपैयाँ नगद, प्लसटु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् ।

फष्ट रनर अपले १५ हजार रुपैयाँ नगद, प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् भने ‘सेकेण्ड रनरअप’ले १० हजार रुपैयाँ नगद र ‘प्लसटु’ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् । यस्तै सान्त्वनाले ५ हजार रुपैयाँ नगद र ‘प्लसटु’ अध्ययनका लागि ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । कार्यक्रमको सन्चालन नविना मग्राँती र इशुम लिम्बूले गरेका थिए ।