धनकुटा । धनकुटामा स्थानीय चिया, अलैँची कृषक तथा मजदुरलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत तालिम दिइएको छ । 

नेपाल ट्रेड युनियन काङ्ग्रेस धनकुटा शाखाको आयोजना तथा नेपाल ट्रेड युनियन काङ्ग्रेस केन्द्रीय समिति तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को सहयोगमा मङ्गलबार तालिम दिइएको हो । तालिममा केन्द्रीय कार्यक्रम संयोजक राममणि पोखरेलले सहजीकरण गरेका थिए । उनले रोजगारदाता तथा मजदुरबीच हुनुपर्ने सुसम्बन्ध, समस्या आइपरे जानुपर्ने निकाय, मजदुरको कानूनी हकअधिकारका बारेमा जानकारी दिएका थिए । 

उनले यस क्षेत्रका साना किसान तथा मजदुरहरू सङ्गठित हुँदै पालिकास्तरीय ट्रेड युनियन शाखा गठन गर्न सुझाव दिए । कार्यक्रममा साना चिया किसान खड्गबहादुर थापाले व्यवसायबाट लागत उठाउन मुस्किल रहेको बताए । एकातिर कामदारको अभाव र अर्कोतिर कामदार पाइहालेमा पनि चियाको पत्ता टिपेको प्रति केजी ४० रुपैयाँ ज्याला दिएर उद्योगलाई प्रति केजी ६५ देखि ७० मा बेच्नु पर्ने अवस्था रहेको बताए । 

यस्तै धनकुटा नगरपालिका–१ कुवापानीका चियाकिसान नारायण गोङ्वा तामाङले सरकारको वेवास्ताले चियाकिसान व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था आएको बताए । अर्का किसान जङ्गबहादुर गोङ्वाले विदेशमा महँगो दरमा बिक्री हुने अर्थोडक्स चिया नेपालमा भनेजस्तो मूल्य नपाउने अवस्था रहेको बताए ।

मजदुरहरू अहिलेको अवस्थामा महँगीले डाँडा काटेको तर ज्यालादर ज्याँदै न्यून रहेकोले सरकारले ज्यालादर बढाउनु पर्ने बताए । युनियनका प्रदेश प्रतिनिधि धर्मराज राईले चिया तथा अलैँची किसान तथा मजदुरको आउन सक्ने समस्या तथा समाधानका लागि अपनाउनु पर्ने व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।