इनरुवा । सुनसरी प्रहरीले स्थानीय तहको सहयोगमा कार्यालय हातामा ३८ लाख लागतको सभाहल निर्माण गरेको छ । 

उक्त सभाहलको उद्घाटन कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले गरेका छन् । जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहतासहित स्थानीय तहका प्रमुखसहितका जनप्रतिनिधिले सभाहलको संयुक्तरूपमा निरीक्षणसमेत गरेका थिए । इन्डोर खेलका साथै ठूला कार्यक्रम आयोजना गर्न देखिएको हल अभावलाई मध्यनजर गर्दै सभाहलको निर्माण गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले बहुउद्देश्यीय नाम दिइएको सभाहल सर्वसाधारणको प्रयोगका लागि समेत खुला रहने बताए । कार्यक्रममा डिआइजी बास्तोलाले प्रहरीलाई प्राप्त स्थानीय तहको साथ र सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा बोल्दै उनले प्रदेशभर नै प्रहरीले स्थानीय तहबाट यथेष्ट मात्रामा सहयोग पाइरहेको भन्दै निरन्तरताको अपेक्षासमेत व्यक्त गरे । 

सम्बोधनका क्रममा डिआइजी बास्तोलाले शान्ति सुरक्षा कायम गर्न आमनागरिक र प्रहरीबीच समन्वय अपरिहार्य भएको बताएका छन् । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी कर्मचारीलाई विभागीय मूल्य र मान्यतामा रही जनसेवामा खटिन निर्देशनसमेत दिए ।