धरान/धरान १२ का प्रदीपप्रसाद आचार्यद्धारा लिखित मनको बहाव कविता संग्रह शनिबार विमोचन गरिएको छ ।

आचार्यको पहिलो कविता कृतिलाई भाषाविद् प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपाने, प्रदेश सांसद यशोदा कायस्थले विमोचन गरे । कविता कृतिका विषयमा प्राध्यापक डाक्टर महानन्द तिमिल्सिना, हरि दाहाल र लेखक तथा पत्रकार गिरिराज आचार्यले टिप्पणी गरे । कवितामा बुबा पुस्ताको रहनसहनदेखि प्रकृतिका विषय र समाजका विकृति विसङ्गति र नेपाली राजनीतिप्रति सालीन ढङ्गले व्यङ्ग्य गरिएको टिप्पणीकारहरूले बताए ।

कविता कृतिमा आफ्नो गोत्रीय परम्परा कसरी रूपान्तरण हुँदै गएको छ त्यस विषयलाई पनि अटाइएको टिप्पणीकार हरि दाहालले बताए । उनले राजनीति पनि सालीन ढंगले, व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरिएको बताए । आचार्यको आफ्नै निवासमा आयोजित कार्यक्रममा अधिकांश अतिथिहरूले कृतिको प्रशंसा गरेका थिए ।

आयोजकको तर्फबाट अम्बिका आचार्यले आफ्नो ससुराको योगदानकै कारणले कविता कृति ल्याउन सफल भएको बताइन् । कवि प्रदीपप्रसाद आचार्य, अम्बिका आचार्य कौडिन्य गोत्रीय आचार्य महिला समाज केन्द्रीय कार्यसमिति धरानको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कवि बम देवान, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विभागका चिकित्सक प्रा.डा. पशुपति चौधरी, पिण्डेश्वर विद्यापीठका प्रा.डा. रमेश घिमिरेलगायतको उपस्थिति रहेको थियो ।