बर्सेनि हुने बाढी पहिरो लगायतको प्राकृतिक विपद व्यवस्थापको लागि कोसी नदीमा नेपाली सेनाले विपद प्रतिकार्य अभ्यास गरेको छ ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा मंगलबार वराहक्षेत्र र बेलका नगरपालिकाको कोशीपुलस्थित नदीमा ‘प्रदेश स्तरीय विपद प्रतिकार्य संयुक्त अभ्यास मनसुन–३’ को अभ्यास गरेको हो ।
नदीमा बिहान करिव ९ बजे बाढी तथा डुबान हुँदा मानवीय जोखिम तथा क्षति न्यूनीकरण, खोज, उद्धार र राहत कार्यको पूर्व तयारीको लागि ‘सिमुलेशन एक्रसाइज’ गरिएको धनकुटा भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले बताए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रसका उद्धारकर्ताहरुले नदीमा डुबेका ‘डमी’लाई थ्रो ब्याग, जिपलाइन, पानीबोटबाट उद्धार गर्ने, यसैगरी अस्पताल पठाउने र प्राथमिक उपचार र चिकित्सक जाँच गर्नेलगायतको अभ्यास गरिएको प्रमुख सेनानी थापाले बताए ।
‘सीमित साधन र स्रोतको अभावमा समेत नेपाली सेनाले मोैसमजन्य विपद् बाढी, पहिरो, भूकम्प, आगलागी र सर्पदंशमा उच्चतम मानवीय कार्य गरेको छ, यसको म उच्च सम्मान गर्छु ।’ कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भने ।
मुख्यमन्त्री कार्कीले सेनालाई उदयपुर जिल्लामा समेत सर्पदंश उपचार केन्द्र खोल्न आग्रह गरे । उनले सरकारको बजेट, नीति र कार्यक्रममा नेपाली सेना प्राथमिकता रहने भन्दै प्रदेश सरकारले सेनालाई लोजिस्टकलगायत तालिमको सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमामा पृतनापति र बाहिनीपतिहरुको सहभागिता रहेको थियो । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षा अधिकारी, सुनसरी र मोरङका प्रजिअ, वराहक्षेत्र, बेलका र इनरुवा नगरपालिकाका नगरप्रमुखहरुको सहभागिता थियो ।