विराटनगर । विराटनगर–२ स्थित मोरङ सहकारी हस्पिटलमा पाठेघरमा रहेको दुई केजीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

खोटाङ रावाबेँसी गाउँपालिका–६ हंसुकी ३८ वर्षीया चन्द्रकुमारी श्रेष्ठको पाठेघरमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको हो । हस्पिटलका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहको टिमले सफल शल्यक्रिया गरेको हो । असह्य पीडा भएकाले एक महिनादेखि पिसाबमा पाइप लगाएर उनी जेठ १४ गते मोरङ सहकारी हस्पिटल आएकी थिइन् । हस्पिटल आउँदा चन्द्रकुमारीको ६ महिनाको बच्चा भएको जस्तो देखिने पेट रहेको डाक्टर साहले बताए ।

चन्द्रकुमारीको स्वास्थ्य परीक्षण गरेपश्चात् पाठेघरमा मासु पलाएको ट्युमर (ऐँजेरु) भएको पत्ता लागेको डा. साह बताउँछन् । सोमबार सफल शल्यक्रिया गरिएको डा. साहले बताए । ‘पाठेघरमा मासु पलाएकोलाई ‘ऐँजेरु’ भनिन्छ । ट्युमर हुँदा धेरै रगत जाने र महिनावारीमा गडबढी हुने गर्दछ । सर्वाकल रिजनमा ठूलो ट्युमर भएकाले पिसाब नलीलाई थिचेको थियो’ डाक्टर साहले भने, ‘त्यसैले पिसाब रोकिएको थियो । शल्यक्रिया गरेर ट्युमर झिकेपछि अहिले बिरामीको स्वास्थ्य अवस्था सुधार भएको छ ।’

‘ऐँजेरु यही कारणले पलाउँछ भन्न सक्ने अवस्था छैन’ डाक्टर साहले भने, ‘अहिले हामीले शल्यक्रिया गरी निकालेको ट्युमरले क्यान्सर हुने सम्भावना कम थियो । यो विस्तारै बढ्छ । कसैको चाँडै बढ्ने गर्दछ । जसले गर्दा ढाड दुख्ने र महिनावारी गडबढ हुने गर्दछ ।’ चन्द्रकुमारीले भनिन्, ‘अहिले शरीरबाट काँडा झिकेर फालेजस्तो भएको छ, त्यो पीडा सम्झिँदा यस्तो समस्या त कसैलाई पनि नहोस् ।’ उपचारपछि पुनः जीवन पाएको महसुस गरेको उनले बताइन् ।