पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा शैक्षिक गुणस्तर कमजोर छ । सामुदायिक विद्यालयमा पठन–पाठन कमजोर भएको भन्दै अभिभावक निजी विद्यालयप्रति आकर्षित भएका छन् ।

फलस्वरूप सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर बन्द हुने अवस्थामा पुगेका छन् । यता कुम्मायक–५ को गुह्येश्वरी आधारभूत विद्यालयमा भने शैक्षिक गुणस्तर सुधार गर्न भन्दै विद्यालय प्रशासन र अभिभावकले चासो दिएका छन् ।

विद्यालयमा  बसेको अभिभावक भेलाले शिक्षाको गुणस्तर सुधार गर्न भन्दै अभिभावक र विद्यालय प्रशासनबीच आठ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिबद्धता पत्रमा विद्यालयले एक शैक्षिक सत्रमा चार वटा परीक्षा सञ्चालन गर्नुपर्नेछ । प्रत्येक तीन महिनाको अन्तरमा परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्दा अभिभावक भेला गरी विद्यार्थीको कमी कमजोरीबारे अभिभावकलाई जानकारी दिनुपर्ने उल्लेख गरिएको छ । 

त्यस्तै अभिभावकको विवरण राखी विद्यार्थीको क्रियाकलाप र विद्यालयमा हाजिर भए नभएको जानकारी दिनुपर्नेछ् । शिक्षकले अनिवार्य गृहकार्य दिने, चेकजाँच गर्ने, समयमा विद्यालय हाजिर हुनेलगायतका शर्त बुँदामा समावेश गरेको छ ।

यता अभिभावकले पालना गर्नुपर्ने प्रतिबद्धतामा स्कुल पोसाक, जुत्ता शैक्षिक सामग्रीसहित नियमित विद्यालय पठाउनु पर्नेछ् । विद्यालयको शैक्षिक अवस्थाबारे नियमित अनुगमन गरी पृष्ठपोषण प्रदान गर्नुपर्ने उल्लेख गरेको छ ।

विद्यालय र अभिभावकले आठ बुँदे सर्त कार्यान्वयन गर्ने सहमति भएको विद्यालयका प्र.अ. भक्तबहादुर तामाङले बताए । विद्यालयमा बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको भन्दै शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको सङ्ख्या वृद्धि गर्न दुवै पक्षले सर्तअनुसार काम गर्ने बताएका छन् । 

कुम्मायक गाउँपालिकामा ५ माध्यमिक र ३२ आधारभूत गरी ३७ सामुदायिक विद्यालय छन् । ३२ आधारभूत विद्यालयमा मात्रै ३ हजार ७ सय १७ विद्यार्थी अध्ययनरत छन् भने ५ माध्यमिक विद्यालयमा ७ सय ६३ जना विद्यार्थी अध्ययनरत रहेको कुम्मायक गाउँपालिकाले जनाएको छ ।