भद्रपुर । झापा भद्रपुर–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन ।

विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेका कारण समस्या नटुङ्गिएको स्थानीय बताउँछन् । विवाद बढ्दै गएपछि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको पनि चासो बढेर गएको पाइएको छ ।  विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेकाले समस्या उत्पन्न भइरहेको प्रजिअ पोखरेलले बताए ।  उत्पन्न विवादलाई केही दिनभित्र प्रजिअसहितको नगरपालिकमा बैठक बसी समस्या समाधान गरिने उनले बताए ।

यता भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले विना शर्त शिक्षकलाई हाजिर गराउनु पर्ने बताए । सम्बन्धित वडाध्यक्षको रोहवरमा हाजिर गराउने विषयमा निर्णय भइसकेको जनाए । विवादको मिलन बिन्दुमा पुगिसकिएको वडानम्बर ९ का अध्यक्ष रामबहादुर दाहालले बताए । नगरप्रमुख, व्यवस्थापन समिति बसेर केही दिनभित्रमा नै टुङ्गो लगाइने उनले जानकारी दिए । व्यवस्थापन समितिले मावि तहका शिक्षक श्रीजना प्रसाईं, कमला राईसहित शिक्षकहरू सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई विद्यालयमा वैशाख ५ गतेबाट हाजिर हुन दिएको छैन ।

विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनलाई समेत उल्लङ्घन गर्दै आइरहेको छ । विव्यासका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको निर्देशनलाई  उल्लङ्घन गर्दै शिक्षकलाई हाजिर हुन दिएका छैनन् । भद्रपुर नगरपालिका कार्यालयमा वैशाख १२ गते भएको सहमतिअनुसार शिक्षकलाई हाजिर हुन नदिएको विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय झापाले वैशाख २० गते पत्र नै लेखेर शिक्षकलाई हाजिर गराउन भने पनि विव्यसका अध्यक्ष मिश्रको ठाडो निर्देशनमा शिक्षकलाई हाजिर नगराइएको हो ।

वर्तमान कानूनले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ र अभिलेखीकरणसहित प्रशासनिक काम शिक्षा समन्वय इकाइले गर्छ तर, यी दुवै निकायको निर्देशन मान्दिन भन्दै विव्यसका अध्यक्ष मिश्रले बताउँदै आएका छन् ।

विद्यालयको गतिविधिमा असहयोग गरेका कारण दुईजना शिक्षक प्रसार्इं र अधिकारीलाई केही समय हाजिर नगराएको व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले बताए ।

अन्य तीनजना शिक्षकलाई भने हाजिर गर्न कहिल्यै नरोकेको उनको भनाइ छ ।  तीनजनालाई पटक – पटक हाजिर गर्न अनुरोध गरेपनि अटेर गरेपछि हुलाकमार्फत् पत्र पठाइएको उनले जानकारी दिए । अन्य दुईजना शिक्षकको विषयमा वडाध्यक्षलाई जिम्मा दिएको उनले बताए । केही दिन भित्र दुईजनालाई पनि हाजिर गराइने उनले बताए ।