वराहक्षेत्र । वराहक्षेत्रको श्रीलङ्का टप्पुमा प्रसूति गृह सञ्चालन गरिने भएको छ । नगरपालिकाको वडानम्बर ६ र ९ स्थित कोसी नदीको पारिपट्टि रहेको सो टप्पुमा भवन निर्माण भएपछि बर्थिङ सेन्टर सञ्चालन गरिने भएको हो ।

करुणा फाउन्डेसनको साझेदारीमा वराहक्षेत्र नगरपालिकाले सुरक्षित र सहज सुत्केरी प्रजनन्को लागि २ कोठाको भवन निर्माण गरिदिएको नगरप्रमुख रमेश कार्कीले बताए । १० लाख बढी लागतमा उक्त भवन निर्माण गरिएको हो ।

‘भवन तयार भएको छ, अब उपकरण तथा जनशक्तिको व्यवस्थापन भएसँगै यही आर्थिक वर्षबाट सो प्रसूति गृहले सेवा सुरु गरिनेछ’–नगरप्रमुख कार्कीले भने । नगरको विपन्नता, भौगोलिक विकटता र अझै पनि यातायातको समस्या भोगिरहेको वडामा नयाँ बनिने आमा र बच्चाको स्वास्थ्यको ग्यारेन्टीको लागि बर्थिङ सेन्टरको स्थापना गरिएको नगरप्रमुख कार्कीले बताए ।

नगरको रेकर्डअनुसार सो वडामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा महिनामा १५ जना सुत्केरी जाँच गराउन आउने गरेका छन् । ‘दूरदराजका गाउँमा भएर पनि घरमा नभएर स्वास्थ्य संस्थामा सुत्केरी जाँच गराउनु नगरको हेल्थ प्रोफाइलको लागि उत्साहजनक भएकोले उनीहरूको स्वास्थ्य हाम्रो प्राथमिकता रहेको छ’–नगरप्रमुख कार्कीले भने ।

सोमबार कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूले प्रसूति गृहको निरीक्षण गरेकी थिइन् । सो क्रममा नगरप्रमुख कार्कीले बर्थिङ सेन्टर निर्वाध सञ्चालन गर्न नगरको बजेट मात्र पर्याप्त नहुने भएको हुँदा जनशक्तिको दरबन्दी, लेबर रुमलगायतको उपकरणको साथै एम्बुलेन्स र शव वाहनको माग गरेका थिए ।

यसैगरी नगरप्रमुख कार्कीले नगरको वडानम्बर २ मा निर्माण भइरहेको नगरगौरवको १५ शøयाको चतरा अस्पताल, मधुवन प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने र विस्तृत परियोजना तयार भएको भरौल अस्पताललगायतको योजनको लागि थप बजेट माग गरेका थिए ।

मन्त्री निर्मला लिम्बूले नगरको स्वास्थ्यमा गरिएको प्रयास सह्रानीय रहेको बताइन् । उनले वराहक्षेत्रको स्वास्थ्य क्षेत्रमा लगानी गर्न प्रदेश सरकार सकारात्मक रहेको भन्दै यसको लागि पहल गरिने बताइन् ।