धरान – पत्रकार र सञ्चारमाध्यमहरुलाई अमर्यादित र गालीगलौजपूर्ण अभिव्यक्ति दिंदै आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)लाई त्यस्तो अभिव्यक्ति फिर्ता लिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न पत्रकारहरुले ध्यानकर्षण गराएका छन् ।

नेपाल पत्रकार महासंघ सुनसरीको नेतृत्वमा आईतबार उपमहानगरपालिकाको कार्यालय पुगेका पत्रकारहरुले तीन दिनभित्र नगर प्रमुखको प्रतिवद्धता नआए चरणबद्ध आन्दोलनमा ओर्लने चेतावनी समेत दिएका छन् । महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, महासंघका केन्द्रिय सदस्य अमर खड्का, पूर्व केन्द्रिय सदस्य किशोरकुमार कार्की र पूर्व केन्द्रिय उपाध्यक्ष हर्ष सुब्बाले ध्यानाकर्षणपत्र नगर प्रमुख साम्पाङलाई बुझाएका थिए । ध्यानाकर्षणपत्र बुझेपछि नगरप्रमुख साम्पाङले दुई दिनभित्र आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । 

ध्यानाकर्षणपत्रमा नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र संविधानको मौलिक हक अन्तर्गत धारा १९मा सञ्चारको हक र धारा २७ मा सूचनाको हकको व्यवस्था रहेको उल्लेख गर्दै भनिएको छ, ‘धरान उपमहानगरपालिकाका नगर प्रमुखका रूपमा तपाईं हर्कराज राईले केही दिनयता प्रयोग गरेका पत्रकार र सञ्चार माध्यमलक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषा तथा प्रेस तथा स्वतन्त्रताविरोधी गतिविधिप्रति नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नगर प्रमुखले शृङ्खलाबद्ध रूपमा पत्रकारलाई गरेका दुव्र्यवहार र धम्कीपूर्ण अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएको महासङ्घ सुनसरी शाखाको ठहर छ । कुनै समाचार वा मिडियामा आएको कुनै विषयमा चित्त नबुझे त्यसबारे आप्mना प्रतिक्रिया वा विचार प्रक्रियागत रूपले राख्न पाउने अधिकार भएपनि नगर प्रमुख साम्पाङले सामाजिक सञ्जाल मार्पmत गरिएका गालीगलैज प्रति महासंघले चिन्ता व्यक्त गरेको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘आप्mना नागरिकहरूको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको स्थानीय सरकार प्रमुखबाट नै पत्रकारले असुरक्षित महसुस गर्नुपर्ने अवस्था आउनु चिन्ताको विषय हो । सञ्चार ऐन बनाएर स्वतन्त्र पत्रकारिताको रक्षा गर्नु स्थानीय सरकारको दायित्व हो, तर सरकार प्रमुख आपैmँ स्वतन्त्र प्रेसविरोधी देखिनु दुर्भाग्यपूर्ण भएको हामीले ठहर गरेका छौँ ।