विराटनगर । ६ वर्षदेखि बलात्कार गरेको आरोपमा एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–६ का ३० वर्षीय रिजवान अन्सारी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका हुन् । पक्राउ परेका अन्सारीको विराटनगरमा चश्मा पसल पनि रहेको छ । अन्सारीले विराटनगरकी एक जना किशोरीलाई २०७४ सालमा बलात्कार गरी भिडियोसमेत बनाएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने डर, त्रास देखाउँदै निरन्तर बलात्कार गरेको अन्सारीमाथि आरोप छ । ‘ब्ल्याकमेलिङ’ गर्दै अन्सारीले ती युवतीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । ‘जबरजस्ती करणी गरेर पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर, त्रास देखाई ब्ल्याकमेलिङ गर्दै ६ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

ती युवतीले दिएको जाहेरीमा ‘करणी गरेपछि बसेको गर्भ दुई पटक पतन पनि गराएको छ’ भनी उल्लेख गरेकी छन् । प्रहरीका अनुसार पहिलो पटक २०७४ सालमा जबरजस्ती करणी गरेको पीडित किशोरीले मोरङ प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीनवटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए । प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युत्तीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।