भद्रपुर । झापाको मेचीनगर नगरपालिकाले किसानलाई नउम्रीने मकैको बीउ वितरण गरेको खुलासा भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदान भन्दै १५ दिन अघि वितरण गरेको मकैको बीउ नउम्रिएका कारण किसानले नगरपालिकामा गुनासो गरे पछि घट्ना बाहिर आएको हो । 

नगरपालिकाबाट वितरण भएको मकैको बीउमा समस्या देखिएको नगरको कृषि शाखाले स्वीकार गरेको छ । रामपुर कम्पोजिट जातको मकैको बीउ किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको मेचीनगरका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले बताए  । नगरपालिकाले वितरण गरेको मध्ये एक लट मकैको बीउमा उमार शक्ति नभएको पाइएको उनले जनाए ।

प्रधानका अनुसार रामपुर कम्पोजिट जातको ११ टन मकैको बीउ सार्वजनिक सूचना मार्फत विभिन्न वडाका किसानलाई वितरण गरिएको थियो । नगरपालिकाले प्रतिकिलो १०४ रुपैया ८० पैसाका दरले खरिद गरी ५० प्रतिशत अनुदान दिएर प्रतिकिलो ५२ रुपैया ४० पैसाका दरले किसानलाई मकैको बीउ वितरण गरेको थियो । 

नगरपालिकाले बीउ उपलब्ध गराउन दरभाउ पत्र माग गर्दा मेचीनगर १० धुलाबारीस्थित खड्का कृषि भण्डारले बीउ उपलब्ध गराउने टेण्डर पारेपछि  सम्झौता गरी बीउ खरिद गरेर किसानलाई वितरण गरेको कृषि शाखा प्रमुख प्रधानले बताए । 

नगरपालिकाले ११ लाख २१ हजार ५ सय ६९ रुपैँयामा बीउ खरिद गरेको जनाए  । बीउ नगरका ८४ जना किसानलाई वितरण गरिएको थियो । उमार शक्ति नभएको बीउको ठाउँमा किसानलाई अर्को बीउ ठेकेदारबाट नै निःशुल्क उपलब्ध गराएको उनले बताए । हालसम्म करिव २ सय किलो बीउ पुनः ठेकेदारले वितरण गरिसकेको उनको भनाइ छ । ठेकेदारलाइ कस्तो कारबाही हुनेसम्बन्धमा निर्णय भइनसकेको उनको भनाइ छ । कृषि प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरिरहेको उनले जनाए । ठेकेदारलाइ आगामी ठेक्कामा प्राथमित्ता नदिइने उनले बताए । तर, किसानले बीउ पाए पनि जमिन तयार गर्दा दोहोर खर्चका कारण  मारमा परेको बताएका छन् । 

पाँच प्रतिशत पनि उम्रिएन खेत जोताउँदा जस्तो थियो लगभग त्यस्तै छ मेचीनगर २ का किसान देवेन्द्र ढकालले बताए ।‘ट्याक्टर जोताएको घण्टाको २२ सयरुपैयाँ पर्छ त्यसको खर्च कसले दिन्छ ? ढकालले प्रश्न गरे । बीउ मात्रै दिएर हुन्छ, पहिलाको बीउ छर्दा गरेको खर्च फेरी गर्नु पर्ने अवस्था छ त्यो खर्च पनि नगरपालिकाले किसानलाई उपलब्ध गराउनु पर्छ ।’ किसानले गरेको श्रमको त हिसाब नै नभएको ढकालको गुनासो छ ।

अर्का किसान युवराज नेपालको पनि नगरपालिकाले उपलब्ध गराएको मकैको बीउ उम्रिएन ।  ‘निर्मलिकरण गरेको भनिएको बिउ पनि उम्रिएन,’ नेपालले भने  करिब २५ हजार रकम खर्च भएको छ, अहिले खेत त्यसै छोड्नु कि फेरी बीउ छर्नु जस्तो भएको छ ।’

नगरपालिकाले अनुदानको नाममा गम्भिर लापरबाही गरेकाले यसको दोषीलाई तत्काल छानविन गरी कारबाही गर्नु पर्ने समेत किसानहरुले माग गरेका छन् ।