देउराली ।  धरान उपमहानगरपालिकाका राजनीतिक दल र नागरिक समाजले संयुक्त रूपमा धरान उपमहानगरपालिका भित्रका गतिविधिको सम्बन्धमा सचेतना कार्यक्रम आयोजना गरेका छन् ।

आइतबार धरान १५ स्थित चुम्लुङ भवनमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका भित्र भएको जनप्रतिनिधिहरू बिचको अन्तरद्वन्द्व र त्यसले निम्त्याएका समस्याहरूको धरानका जनता बारेका सचेत हुनुपर्ने  वक्ताहरूले बताएका छन् । 

  महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा  पूर्व नगर प्रमुख कुमार बहादुर कार्कीले नगरप्रमुख एकातिर र वडाध्यक्ष अर्कातिर हुँदा नगरको सर्वाङ्गीण विकास र नगर बासीको अपेक्षित समृद्धि  हुन नसक्ने बताएका छन् ।

उनले  नगरप्रमुख हर्कराज राई (साम्पाङ)  धरान सहरको सर्वाङ्गीण विकास नगरी वडाध्यक्षसँग पौँठे जोरी खेल्दा नगरको काम कारबाहीमा व्यथिति पैदा हुने बताए । उनले नगर प्रमुखको पिएले वडाध्यक्षलाई पत्र काट्नु मर्यादित  नहुने भन्दै  धरान वडाध्यक्ष, नगरप्रमुख र स्वकीय सचिवको विवादमा अलमलिएकोले विकास निर्माणका मुद्दाहरू ओझेलमा परेको बताए ।  

कार्कीले नगरप्रमुख धरानमा खानेपानी ल्याउन गरेको प्रयास राम्रो भएको भए पनि  त्यस कार्यमा भएको आर्थिक गतिविधिको  पारदर्शितामा शङ्का व्यक्त गरेका छन् । 

कार्यक्रममा धरान १५ का वडाध्यक्ष नरेश इवारमले धरानको पछिल्लो वास्तविक अवस्था थाहा पाउन फेसबुक भन्दाबाहिर  निस्किएर हेर्नु पर्ने बताए । उनले वडाध्यक्षहरू अन्यायमा रहेका भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अध्ययन गर्न  नगरप्रमुखलाई राईलाई सुझाव दिएका छन् । 

उनले भने " शक्ति पृथकीकरणको सिद्धान्त अनुसार, राज्यको पुनर्संरचनाको मर्म अनुसार हामी नगरको विकास गर्न गएका हौँ । तर  सुकुम्वासी समस्या, पानीको, बिजुलीको सुविधाको सिफारिस गर्ने अधिकार मेयरको टेबुलमा अड्किएका छन् ।"

कार्यक्रममै बेल्दै नेकपा माओवादी केन्द्र धरान नगर कमिटी अध्यक्ष तथा धरान १७ का वडाध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज)ले धरान नगर सरकारको कुकृत्यका विरुद्धमा सङ्घर्षमा रहेको बताएका छन्  । उनले नगरको  हितमा कार्यपालिकामा बोल्दा जबरजस्ती खोला बेचुवा दलालका रूपमा चित्रण गरिनु , कार्यपालिका सदस्यलाई बैठकबाट बाहिर निस्केर जा भन्नु,  स्वकीय सचिवको सहायकले निर्देशनात्मक पत्र पठाउने जस्ता कार्य नगर प्रमुखबाट भएको बताए । 

उनले नगर प्रमुख हर्कराजले वडाध्यक्षहरूले विधि विधानको पक्षमा बैठकमा कुरा उठाउँदा बैठक स्थगित गर्ने, अस्वाभाविक रूपमा कर्मचारीलाई कारबाही  गर्ने,  कार्यपालिकामा फरक मत राख्दा वडाध्यक्षलाई स्पष्टीकरण सोध्ने, सङ्घ र प्रदेशको योजना ल्याउन नदिने, सेवाग्राहीलाई धरपकड गर्ने जस्ता  गतिविधि गरेको आरोप लगाए । 

वडाध्यक्ष भट्टराईले पछिल्लो खानेपानी अभियान बोर्ड र नगरपालिकाले निर्णय बिनै नगर प्रमुख हर्कराजले जथाभाबी काम गरेको भन्दै  बताए । उनले भने " जब हर्क साम्पाङको फिल्म खेल्न छोडेर, यथार्थमा आउनुहुन्छ तब सबै वडाध्यक्ष पाइप बोक्न आउँछन् ।  हामी फिल्म खेल्न र सहायक भूमिकामा नगरपालिका आएका होइनौँ । "

नगरप्रमुखले सबैको सल्लाह लिए अघि बढ्नु पर्नेमा विगतका राजा महाराजा शैली देखिनु दुखद भएको नेकपा एमालेका धरान उपमहानगर कमिटी अध्यक्ष हर्कजङ एभेङले बताए । उनले नगरप्रमुख साम्पाङका विरुद्ध सङ्गठित हुनुपर्ने आवश्यकता नरहेको तर निरङ्कुश हुने, शक्ति आफैमा केन्द्रित गर्ने प्रवृत्ति र  विसङ्गतिविरुद्ध सङ्गठित हुनु पर्ने स्थिति बनेको बताए । 

नेपाली काँग्रेसका धरान उपमहानगर सभापति श्याम पोख्रेल अभियानताका नाममा सिधा साधा जनतालाई भ्रममा पारेर चन्दा आतङ्क मच्चाउने कार्य भएको बताए । उनले अभियानका नाममा लिएको रकम बापत दिइने रसिदको आधिकारिकता माथि समेत प्रश्न उठाएका छन् । 

 उनले प्रश्न गरे " चेक नलिने, क्यास मात्र लिने ? एकल निर्णय गर्ने ? अहिलेसम्म खानेपानी व्यवस्थापन बोर्डको एउटा बैठक बसेको छैन । बोर्डका  अरू सदस्यलाई के भइरहेका छ थाहा छैन ।   नगर प्रमुख साम्पाङको अहिले भइरहेको खानेपानी अभियान उपमहानगरपालिका र  बोर्ड कसको निर्णय हो ? "

पोख्रेलले  बोर्ड र धरानको भानु चोक स्थित घण्टाघरमा लामो समय देखी कार्यरत कर्मचारीलाई निकालेर आफ्नै मान्छे नियुक्त गरेको बताए ।