विजयपुर । धरान नगर प्रमुखमा हर्कराज राई निर्वाचित भएपछि श्रमदानबाट विभिन्न स्थानका मौसमी खोलाबाट पानीको स्रोत थपे पनि अहिले आएर खानेपानीको समस्या हल हुन सकेको छैन । 

बर्खाको सयममा मात्रै बग्ने खोलाको स्रोत व्यवस्थापन गरी पानी ल्याएपछि खानेपानी समस्या ज्यूँका त्यूँ रहेको जानकारहरू बताउँछन् । धरान–७ शान्तिपथमा धारामा पर्याप्त खानेपानी नआएको करिब दुई महिना भयो । करिब एक महिनाअघि धरान–७ का अध्यक्ष जीवन सुवेदीले खानेपानी नआएपछि माग गर्दै बोर्डलाई पत्राचार पनि गरेका थिए ।

हप्तादिन अघिसम्म तीन दिनमा एक दिन अपर्याप्त पानी आउने गरेको थियो । तीन दिनमा एक दिन पनि कतिबेला आउने निश्चित नहुँदा त्यहाँका बासिन्दा चिन्तित थिए । धरान–७ का स्थानीय राजेश राई कति रात पानीको पर्खाइमा नसुतेको बताउँछन् । उनले भने, ‘केही रात पानीको पर्खाइमा बित्यो ।’ उनले कर्मचारीको मन लागेको बेला मात्र छाड्ने गरेको बताए ।

तर, हप्तादिनदेखि भने पानी पूर्ण रूपमा आएको छैन । पानी आउँदा प्रायः स्थानीयले मोटर लगाएर तान्ने गरेका छन् । शुक्रबार बिहान पानी छाडिए पछि स्थानीयले मोटर लगाएर पानी तानेको पीडित स्थानीय बताउँछन् ।

शुक्रबार धरान खानेपानी बोर्डका कर्मचारी केवल ताम्राकार अनुगमनमा आएका थिए । उनले अनुगमनका क्रममा मोटर चलाउन नहुने भनेपछि स्थानीयसँग चकाचर्की परेको थियो । स्थानीय रीता राईले पर्याप्त पानी आए मोटर लगाएर खर्च गर्न कसैलाई रहर नभएको बताइन् ।

स्थानीय राजेश राईले थपे, ‘सातदिनदेखि खानेपानी आएको छैन । १२ बजे राति थोरै समय आउँछ ।’ उनले किनेर पानी खानुपर्ने अवस्था भएको बताए । खानेपानी बोर्डका कर्मचारी ताम्राकारले स्रोतमै खानेपानी अभावका कारण पानी नआएको बताएका थिए ।

खानेपानी कार्यालय घेराउ गर्न आउने स्थानीयको भनाइमा कर्मचारी ताम्राकारले ‘आएर ट्याङ्की छेडेर पानी ल्याउनू’ भन्ने जवाफ दिए । स्थानीय विमल श्रेष्ठले अन्य स्थानमा पानी आइरहेको बताउँदै भने, ‘शान्तिपथमा किन आउँदैन ?’ उनले खानेपानी समस्या समाधानको मुद्दा लिएर निर्वाचित नगरप्रमुखले वितरण प्रणालीसमेत व्यवस्थापन गर्न नसकेको बताए ।

नगरप्रमुख हर्कराज राईको निर्वाचनको प्रमुख मुद्दा नै खानेपानी समस्या समाधान थियो । तर, उनले हालसम्म खानेपानी वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानी वितरण प्रणालीमा व्यवस्थापन गर्न नसक्दा कतै हप्तादिनसम्म पनि पानी आएको छैन भने कतै दैनिक पानी आउने गरेको छ ।

लामो समय खानेपानी समस्याका विषयमा अभियान चलाएका राई निर्वाचित भएपछि वितरण प्रणालीमा सुधार गरी खानेपानीमा केही राहत देलान् भन्ने धरानवासीको अपेक्षा थियो ।

तर, नगरप्रमुख राई वितरण प्रणालीको व्यवस्थापनमा भन्दा पनि अल्पकालीन स्रोत व्यवस्थापनमा लागे । विगतका अध्ययनहरूले दीर्घकालीन अर्थात् सुख्खा मौसममा सुक्ने मुहानहरूमा लामै समय र स्रोत खर्चिए ।

बर्खामा धरान बजारमा खोलै बगाए तर अहिले भने खानेपानी समस्या हल हुन नसकेको स्थानीयको आक्रोस छ । नेकपा (एमाले) का नेता पारस काङ्माङले धरान नगरप्रमुख खानेपानीको दीर्घकालीन समाधानमा लाग्नुभन्दा पनि सस्तो लोकप्रियताका लागि लागेको बताए ।

उनले भने, ‘विगतका अध्ययनहरूले धरानमा सुख्खायाममा पानी आउने स्रोत छैन भन्ने देखाएको थियो । मेयर निर्वाचित भएपछि स्रोतको खोजी गर्नुहोला भनेका थियौँ । सस्तो लोकप्रियताका लागि बर्खायाममा मात्रै बग्ने खोलाको पानी तानेर बस्नुभयो ।’ उनले पानीको स्रोत व्यवस्थापन भएको भए अहिले किन पानीको समस्यामा थोरै भए पनि राहत भएन त ? भन्ने प्रतिप्रश्न गरे । 

खानेपानी चरम् अभाव भएपछि धरान–७ का स्थानीय बासिन्दा शुक्रबार नगरप्रमुख राईलाई ध्यानाकर्षण गराउन पुगेका थिए । स्थानीय राजेश राईले भने, ‘ध्यानाकर्षण गराउन गयौं । नगरप्रमुखले खानेपानी अभाव भएको जवाफ दिनुभयो ।’ खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका नगरप्रमुख राईले बोर्डलाई नै खानेपानी व्यवस्थापन गर्न पत्राचार गरेको उनले बताए ।

धरान–१५ मा पनि विगतमा भन्दा पानी कम दिन थालिएको छ । यता बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले त्यस्तो विशेष–पत्र नआएको बताए । उनले सुख्खायाम सुरु भएकाले खानेपानी वितरणमा समस्या भएको बताए । उनले भने, ‘हामी समाधानमा लागिरहेका छौँ । धेरैतिर अभाव भएकाले समस्या समाधान हुन सकेको छैन ।’