सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगिरहेका छन् ।

कार्कीसँगै सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (क) र (ख) बाट निर्वाचित प्रदेश सांसद्हरू सदानन्द मण्डल र इस्राइल मन्सुरी पनि गाउँ गाउँमा आफ्ना नेताकार्यकर्ताका साथै जनतासमक्ष पुगिरहेका छन् । लगातार दोस्रोपटक निर्वाचित भएपछि आफ्नै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य कार्कीसँगै मण्डल र मन्सुरीलाई स्थानीयले स्वागतसँगै गुनासो पनि गरिरहेका छन् । मुख्यतः आफूले निर्वाचित गराएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूलाई स्थानीयले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, खानेपानीजस्ता आधारभूत आवश्यकता पूरा गराउन दबाव दिँदै आएका छन् ।

निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका जयनारायण मेहताले गाउँमा खानेपानीको समस्या समाधान गरिदिन ध्यानाकर्षण गराए । ‘हाम्रो गाउँमा खानेपानीको समस्या छ’ उनले भने, ‘निर्वाचनका बखत उम्मेदवारहरूले समस्या समाधान गर्छौं भनेका थिए सोही कुरा उहाँहरूलाई पुनः स्मरण गराएको हुँ ।’

निर्वाचित भएको करिब ४ महिनापश्चात् निर्वाचन क्षेत्र आएका सांसद्हरूलाई स्थानीयले खानेपानी अभाव, बेरोजगारी र कृषकका समस्या, शिक्षा र स्वास्थ्यमा लापरबाहीको अवस्थाका बारेमा गुनासो गरे । वडा वडामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि भनेअनुसारको सेवा आफूहरूले पाउन नसकेको बारेमा ध्यानाकर्षण गराएको अर्का स्थानीय तस्लिम मन्सुरी बताउँछन् । ‘वडा वडामा स्थापना भएका स्वास्थ्य केन्द्रमा भनेअनुसारको औषधि पाइँदैन’ उनले गुनासो गर्दै भने, ‘कर्मचारी बस्दैनन् सोही कुराको बारेमा सांसद्हरूलाई ध्यानाकर्षण गराएको हुँ ।’

सामुदायिक विद्यालयमा शिक्षाको स्तर दयनीय भएको बारेमा ध्यानाकर्षण गराउँदै अर्का स्थानीय आशनारायण झाले समयसापेक्ष शिक्षामा सुधार गर्दै प्राविधिक शिक्षाको पढाइ थालनी गराउन सांसद्हरूसँग माग गरे । यसैगरी अर्का स्थानीय मोहन खेरवारले किसानहरूले समयमा मल र बिउ पाउन नसकेको गुनासो गर्दै किसानका समस्या समाधानका लागि गम्भीर बन्न आग्रह गरे ।

जनताले राखेको माग स्वभाविक भएको बताउँदै सङ्घीय सांसद् कार्कीले आफू जनताका माग बुझेर समस्या समाधान गर्नका निम्ति इमानदारीका साथ लागेको दाबी गरे । ‘२०७४ सालमा म निर्वाचित भएपछि थालिएका अधिकांश विकास निर्माणकार्य सम्पन्न हुने अवस्थामा छन्’ उनले भने, ‘सडक, पूर्वाधार मात्रै होइन शिक्षा, स्वास्थ्य र खानेपानीका साथै किसानका समस्या समाधान गर्न लागिपरेको छु ।’

आफूले गरेको विकास निर्माणकार्यबाट प्रभावित भएरै जनताले पुनः निर्वाचित गराएको हुँदा उनीहरूका माग, गुनासो र अपेक्षाअनुसार थप काम गर्न गाउँ गाउँमा जनतासँग भेटघाट गरिरहेको सांसद् कार्कीको भनाइ छ ।