विराटनगर । विराटनगर महानगरपालिका–४ बस्ताटोलस्थित बस्ता खोला मिचेर कृष्णप्रसाद भट्टराई ट्रस्टको भवनका लागि पर्खाल निर्माण भइरहेको पाइएको छ ।

करिब ८ कठ्ठा क्षेत्रफलमा बन्दै गरेको ट्रस्टको भवनको रिटेनिङ्ग पर्खाल बस्ता खोलाको बीचमा राखेर धमाधम निर्माण भइरहेको हो । खोलाको पूर्वतिर मिचेर बीच भागमा ट्रस्टको रिटेनिङ्ग पर्खाल अहिले धमाधम उठाउन थालेको छ । करिब २५ फिट चौडाइ रहेको बस्ता खोला नजिक ट्रस्टको भवन बनाउन थालेपछि मुस्किलले १० फिट चौडाइमा खोला बग्दा समस्या हुने स्थानीयले बताए ।

यसरी खोला अतिक्रमण गरी संरचना निर्माण गर्दा बर्खामा बाढीले बस्ती डुवानमा पर्ने भन्दै स्थानीयले विरोध गरेका छन् । उनीहरूले खोला अतिक्रमण गरी निर्माण गरेको संरचना हटाउनुपर्ने माग राख्दै शनिबार निर्माण कार्यमा अबरोध गरे । २५ फिटभन्दा धेरै चौडाइ भएको बस्ता खोला अहिले मुस्किलले १० फिट चौडाइमा बग्ने अवस्था बनाइएको विराटनगर–४ बस्ताटोलका इन्द्र श्रेष्ठले बताए ।

‘यसअघि सामान्य वर्षा हुँदा बस्ता खोलाको बाढी बस्तीमा पस्दा विराटनगर–४ नम्बर वडाभित्रको धेरै बस्तीहरू डुवान हुने गरेको थियो,’ उनले भने, ‘यसरी खोला मिचेर संरचना बनाउँदा पूरै बस्ती झन् डुब्ने छ । त्यसैले खोला मिचेर संरचना बनाउने काम तत्काल बन्द गरिनु पर्दछ ।’

बस्ता खोलाको बहाब क्षेत्र मिचिएर संरचना निर्माण गर्दा विराटनगर–४ को समावेशी टोल, बललौरी चौक, इकराई र दक्षिण क्षेत्र पूरै डुवानमा पर्ने उनले बताए । बर्सेनि यसको आर्थिक र भौतिक क्षति स्थानीयले भोग्ने गरेका छन् । विराटनगर–४ का महेन्द्र विष्टले बर्सेनि बाढीको समस्या भोग्नुपरेको बताए । खोला मिचेर पक्की भवन बनाउँदा आफ्नो बस्ती नै डुवानमा पर्ने उनले बताए ।

‘यसअघि बाढीको चपेटामा परेका थियौं । अहिले यसरी ट्रस्टको रिटेनिङ्ग पर्खाल खोलाको बीचमा हालेपछि खोला साँघुरिन्छ । त्यसपछि पानीको बहाव बस्तीमा गएर डुवानमा पर्नेछ,’ उनले भने, ‘बस्ती जोगाउन दुवैतिर रिटेनिङ वाल लगाउने भनेका छन् । अहिले एक साइटको रिटेनिङ वाल खोलाको बीचमा लगाएको छ । अर्को लगाउँदा २० फुटको बाटो भत्किन्छ । यो बाटो कृषि उपजका लागि वर्षौंदेखि प्रयोग हुँदै आएको कृषि सडक हो ।’

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले खोला मिचेर संरचना बनाउन नमल्निे बताए । ‘खोला मिचेर ट्रस्टको संरचना बनेको आफूलाई थाहा छैन । अहिले काठमाडौँमा रहेको छु,’ उनले भने, ‘विराटनगर आएपछि के रहेछ । बुझेर अगाडि बढ्ने छौँ ।’

विराटनगर–४ का वडाध्यक्ष जितन थापाले खोला मिचेर बनाएको संरचना हटाउने बताए । ‘यो विषयमा आइतबार बस्ने कार्यपालिकाको बैठकमा पनि आवाज उठाउनेछु,’ उनले भने, ‘हामी आउनुभन्दा अगाडिका जनप्रतिनिधिले सिफारिस गरेको कारणले संरचना बनेको रहेछ ।’

कृष्णप्रसाद भट्टराइ ट्रस्टको भवन निर्माणको नेतृत्व राष्ट्रियसभा संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले गरेका छन् । उनले बस्तीलाई सुरिक्षत बनाउनका लागि तटबन्धन गरिएको बताए । ‘अहिले एकतिरमात्र काम भइरहेको छ,’ उनले भने, ‘दुवैतिर रिटेनिङ वाल लगाएर बस्तीलाई सुरिक्षत बनाउने हो ।’ आफू पनि यही क्षेत्रको सांसद भएकाले जनतालाई अन्याय हुने काम नगर्ने उनले बताए ।

भवन निर्माण समितिका अध्यक्ष देवचन्द्र घिमिरेले साविकको बास्ता खोलालाई जोगाएर भवन निर्माणको काम अगाडि बढेको बताए । ‘वडाका प्रतिनिधिहरू राखेर काम गरिएको हो । खोलाको स्वरूप बिगारेर काम गरिँदैन । मिच्ने काम हुँदैन,’ उनले भने, ‘रिटेनिङ वाल उठाउँदा धेरै खनिएकाले बीचभागमा देखिएको हो । पछि निर्माण भएपछि साविकको स्थानमा आउनेछ ।’