विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँचतले भवन निर्माणको काम रोकेर दोस्रो पटक ठेकेदार कम्पनी सम्र्पकविहीन भएपछि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरले काम रोकेर सम्र्पकविहीन भएको ठेकेदार कम्पनीको सम्झौता रद्द गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।

एकाइले निर्माण कम्पनीलाई पाँचवटा पत्र पठाइसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि नबढाई निर्माण ठेकेदार कम्पनी सम्र्पकविहीन भएकोले कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए ।

‘पटक–पटक गरी निर्माण कम्पनीलाई तोकिएको समयमै काम सम्पन्न गर्न एकाइले पाँच पटकसम्म पत्राचार गरिसकेको छ । अहिलेसम्म सम्पर्कमा आएको छैन । छैठौंपटक मङ्गलबार पत्राचार गर्नेछौं’ उनले भने, ‘त्यसपछि पनि निर्माण कम्पनी सम्पर्कमा नआए कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।’

कोसी अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा ठेक्का खुलाएको थियो । रमन भूमि, बि.आई.पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।

उक्त जेभीले ठेक्का पाएपछि २०७८ असार २३ गते सङ्घीय आयोजना कार्यान्वयन एकाइसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो । शिलान्यास गरेको ९ महिनासम्म निर्माणको काम गरेपछि निर्माण कम्पनीका सञ्चालक असार महिनादेखि सम्पर्कविहीन भएका थिए ।

सम्झौता रद्द गरेर निर्माण कम्पनीलाई कारबाही गर्ने भएपछि भूमि कन्स्ट्रक्सनका सञ्चालक कृष्ण बोहरा सम्पर्कमा आएका थिए । दुई हप्ताजस्तो काम गरेपछि भदौदेखि पुनः सम्र्पकविहीन भएका छन् । ठेकेदार कम्पनीले २० देखि २५ प्रतिशतमात्र काम गरेपछि अहिले सम्पर्कविहीन भएको उनले बताए । ‘निर्माण सुरु भएको ९ महिनामा ३० देखि ३५ प्रतिशत काम सम्पर्क गरिनुपर्ने हो’ इन्जिनियरसमेत रहेका रामले भने, ‘अहिले निर्माण कम्पनी सम्पर्कमा रहेको छैन । काम गर्न हामीले पत्राचार पनि गरेका छौं । त्यसको कुनै रेस्पोन्स आएको छैन ।’

ठेकेदार कम्पनी सम्पर्कमा नआए कानूनअनुसार ठेकेदार कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका प्रमुख गणेशबहादुर महर्जनले बताए । निर्माणको काम त्यसै छाडेर ठेकेदार कम्पनी सम्पर्कमा नआए प्रक्रिया पूरा गरी कानूनअनुसार ठेकेदार कम्पनीले राखेको बैङ्क ग्यारेन्टी जफत गरी कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने प्रावधान रहेको छ ।

निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ६ करोड ५५ लाख ७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । उसले निर्माण गरेअनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमै ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पूरा हुन नसक्ने प्राविधिकहरूले बताएका छन् । निर्माण कम्पनीले २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधासम्पन्न भवन हस्तान्तरण गर्नुपर्नेछ । यही तरिकाले निर्माणको काम अगाडि बढ्ने हो भने सम्झौता अवधिमा निर्माण पूरा नहुने निश्चित भएको छ ।

ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । ठेक्का आह्वान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेभीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरू बताउँछन् । निर्माण कम्पनीका सञ्चालक कृष्ण बोहरालाई अस्पतालको भवन निर्माणको काम रोकिएको विषयमा बारम्बार सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

कस्तो बन्नेछ नयाँ भवन ?
चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । भूमिगत भवनको भूइँतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको छ ।

दोस्रो तलामा एचडियुसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहित ५० शøयाको हुनेछ । त्यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तला ५० शøयाको हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ ।

गुरुयोजनाअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचांै तला ५२ शय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख छ । हाल ३ सय ५० शøयाको अस्पताल रहेको कोसीको सुविधासम्पन्न भवन बनेपछि पाँच सय शøया पु¥याउने कोसी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले बताए ।