नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । 

कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट उनले लगातार चौथोपटक जित हासिल गरेकाे हो । 

विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुदै आएको नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी भएका छन् ।

काेइराला २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मिएका हुन् । उनि २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका थिए । 

त्यसयताका आमनिर्वाचनमा उनि विजयी हुदै आएका छन् । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उनि एकमात्र विजयी भएका थिए । यसपटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल भएका छन् ।