धरान । शुक्रबारबाट प्रदर्शनमा आएको राधालाई एकाएक हलबाट उतारिएको छ ।

निर्माताहरूले ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्राइम टाइम र पर्याप्त शो नपाएका कारण हलबाट उतारिएको जनाइएको छ ।

अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित राधालाई मल्टिप्लेक्सहरूले प्राइम टाइम र पर्याप्त शो नदिएको भन्दै मङ्गलबारबाटै शो उतारिएको हो । शुक्रबारबाटै प्रकाश फिल्म पनि प्रदर्शनमा आएको थियो ।

अब राधालाई नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी हलबाट उतारिएको निर्देशक सुवर्ण थापाले पत्रकार सम्मेलनमा बताए । प्रकाश फिल्मलाई हलवालाहरूले बढी समय दिएको आरोप लगाइएको छ ।

राधा फिल्मले चार दिनको अवधिमा कमजोर व्यापार गरेको जनाइएको छ । तर, नायिका श्रेष्ठको अभिनयको तारिफ गरिएको छ ।