विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–६ का खगेन्द्र बराइलीले चार वर्षको भाइ निमोनियाले ग्रस्त भएपछि कोसी अस्पताल लिएर आए । यहाँका चिकित्सकले बिरामीको अवस्था हेरेपछि एनआइसियुमा राखेर उपचार गरिनुपर्ने सुझाव दिए ।

आर्थिक अवस्था नाजुक भएको बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोसीमा बिरामी लिएर आएका थिए । तर, कोसी अस्पतालको दुई महिनादेखि एनआइसियु बन्द रहेको छ । कोसीमा एनआइसियु बन्द भएको कारणले बराइली चर्को शुल्क तिरेर निजी अस्पतालमा भाइको उपचार गर्न बाध्य भए ।

प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोसीमा दुई महिनादेखि बन्द भएको एनआइसियु सेवा सुचारु नगर्दा बिरामीहरू चर्को शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य छन् । ठाउँ अभाव भएको देखाउँदै कोसी अस्पताल प्रशासनले दुई महिनादेखि एनआइसियुको उपकरणहरू स्टोरमा थन्क्याएर राखेको छ । स्टोरमा एनआइसियुमा आवश्यक पर्ने उपकरणहरू ताला लगाएर राखिएको छ ।

अस्पतालको बच्चा वार्ड पुरानो भवनबाट सरेर नयाँ भवनमा गएको एक महिना हुन लाग्दा पनि अस्पताल प्रशासनले एनआइसियु सुचारु गर्ने चासो देखाएको छैन ।

कोसीको पुरानो बच्चा वार्ड ओपिडी भवनदेखि पूर्व–उत्तरतर्फ रहेको थियो । पुरानो भवनमा रहँदा पाँच शय्याको एनआइसियु सुचारु रहेको थियो । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा वार्ड सरेको एक महिना पुग्दा पनि एनआइसियु सुचारु हुन नसकेको हो ।  नयाँ भवनमा बच्चा वार्ड १६ साउनमा सरेको थियो । अहिले बच्चा वार्डमा ३२ शय्या रहेको छ ।

भेन्टिलेटर अवश्यक पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआइसियुमा राखेर उपचार गरिन्छ । कोसीको गाइनो वार्डमा दैनिक २० देखि २५ वटासम्म प्रसूति हुने गरेको छ । जसमध्ये हप्तामा ५ देखि १० जनासम्म नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, अस्पतालको एनआइसियु सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेका छन् ।

‘पैसा हुनेले त निजीमा लगेर उपचार गराउँछन् । कोसीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको छ’ बिरामीका आफन्त खगेन्द्र बराइलीले भने, ‘कोसीमा भए दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीको एनआइसियुमा राखेर उपचार गर्दा दिनको ३ हजारदेखि ५ हजार रुपैयाँसम्म तिर्नु परिरहेको छ ।’

कोसी अस्पतालका बच्चा विभाग प्रमुख डा. रामनारायण चौधरीले भवन अभावको कारणले एनआइसियु राख्ने ठाउँ नभएको बताए । ‘अहिले बालबालिकाहरूमा ज्वरो र इन्फेक्सन भएका बिरामीहरू आउने गरेका छन्’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौँ । गाह्रो भएका बिरामी र एनआइसियुमा राखेर उपचार गर्नु पर्ने बिरामीलाई एनआइसियु भएको हस्पिटल लैजान आग्रह गर्दै आएका छौँ ।’

कोसी अस्पतालका मे.सुपरिटेन्डेन्ट डा. यज्ञ खरेलले पुरानो भवनबाट नयाँ ठाउँमा सरेको भवनमा एनआइसियु राख्ने उपयुक्त ठाउँ नभएकोले समस्या भएको बताए । चाँडै एनआइसियु जडान गर्ने तयारीमा जुटेको उनले बताए । ‘केही दिनभित्रै एनआइसियु सुरु हुन्छ’ उनले भने, ‘जनशक्ति पनि अहिले अभाव रहेको छ । यस विषयमा मन्त्रालयमा पनि जानकारी गराएका छौँ । पदपूर्ति भएपछि उपचार सहज हुनेछ ।’

पोषणमा एनआइसियु राख्ने तयारी
कोसी अस्पतालभित्र पोषण रहेको भवनमा एनआइसियु राख्ने तयारी गरिएको छ । अहिले रहेको पोषण भवनमा एनआइसियु राख्ने र पोषण पुरानो आइसियुमा सार्ने २९ साउनमा अस्पतालले निर्णय गरेको हो । पोषण र गाइनो वार्डनजिक रहेको छ ।

पोषण भएको भवनमा एनआइसियु राख्दा उपयुक्त हुने चिकित्सकहरूले सुझाव दिएपछि अस्पतालले निर्णय गरेको बुझिएको छ । निर्णयअनुसार अस्पतालले एनआइसियु राख्ने तयारी सुरु गरेको मेसु खरेलले बताए ।

koshi 1