विराटनगर ।  विराटनगर–  ९ गुद्रीको एक जना बालकको उपचारमा लापरबाही गरेको भन्दै विरामीको मृत्यु भएपछि विराटनगरस्थित मकालु  एभरेष्ट हस्पिटल तोडफोड गरिदिएका छन् । 

हस्पिटलका चिकित्सकलले शल्यक्रियामा लापरवाही गरेको कारणले  विराटनगर ९ गुद्रीका  ७ वर्षीय विराट पासवानको मृत्यु भएको भन्दै मृतकका आफन्तहरूले हस्पिटल तोडफोड गरेका हुन् । 

पासवानको एपेन्डिसाइटको मकालु हस्पिटलमा गत वैशाख २८ गते हस्पिटलका जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. अमिर अफाकले शल्यक्रिया गरेका थिए । शल्यक्रिया भएपछि जेठ ५ गते डिस्चार्ज दिएको थियो । विरामी पासवानलाई ज्वरो र वान्ता आएपछि बिहीबार मकालु हस्पिटल लगिएको थियो । डा. अफाकले विरामीको अवस्था सिकिस्त भएको भन्दै न्युरो हस्पिटलमा रेफर गरिदिएका थिए । बालक पासवनको उपचारको क्रममा शुक्रबार ३ बजे मृत्यु भएको हो । 

एपेन्डिसाइटको अप्रेशन गर्दा डा. अमिर अफाकले लापरबाही गरेको कारणले छोराको अहिले मृत्यु भएको मृतकका बावु विष्णु पासवानले बताए । ‘छोरा विरामी भएपछि पहिला उपचार गरेकै मकालु हस्पिटल लिएर आए ।  अस्पताल आउँदा चिकित्सक पनि ढिलो गरी आउनुभयो । त्यसबेलामा सम्म छोराले बान्ता गरिरहेको थियो ।

तीन महिना अगाडी छोराको पेटको शल्यक्रिया राम्रोसँग नगरेको कारणले यस्तो समस्या आएको  हो,’ बावु विष्णु पासवानले भने, ‘सिकिस्त भएपछि छोरालाई अर्को हस्पिटलमा रेफर गदियो । त्यसपछि छोराको ज्यान गयो ।’ सुरूमा मकालु हस्पिटलले राम्रोसँग शल्यक्रिया नगरेको कारण र चिकित्सकको लापरवाहीले छोराको मृत्यु भएको उनलेको भनाई छ । छोराको उपचारमा लापरवाही गर्ने मकालु हस्पिटलका चिकित्सकलाई कारवाही गरिनुपर्ने उनले बताए ।

यता उपचारमा संलग्न चिकिस्तक डा. अमिर अफाक उपचारमा कुनै पनि लापरबाही नगरेको दाबी गरेका छन् । ‘तीन महिना अगाडी शल्यक्रिया राम्रोसँग गरेको हो । अहिले बच्चालाई बान्ता र ज्वारो आउन थालेपछि हस्पिटल लिएर आउनुभएको थियो । बच्चाको समस्या भएको कारणले मैले अर्को हस्पिटलमा रेफर गरेको हो,’ डा. अफाकले भने, ‘मेरोतर्फबाट र हस्पिटलबाट कुनै पनि लापरवाही भएको छैन ।’

हस्पिटल तोडफोड गरेको भन्दै चार जना पक्राउ 

विरामीको मृत्यु भएपछि आक्रोशित भिडले मकालु हस्पिटल तोडफोड गरिदिएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ ले शुक्रबार  दिउँसो मृतकका चार जना आफन्तहरू पक्राउ गरेको हो । 

हस्पिटल तोडफोडमा संललग्न भएको भन्दै प्रहरीले रमन मण्डल, सज कुमार कमात, सीतसलाई पक्राउ गरेको मृतकका आफन्तहरूले बताएका छन् । 

पक्राउ परेका चार जना युवाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।