धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन् ।

प्रतिष्ठानका सह–कुलपतिसमेत रहेका मन्त्री खापुङले अस्पतालको निरीक्षण गर्दै सरोकारवालापक्षहरूसँग अन्तरक्रिया पनि गरेका छन् । उनले निर्माणाधीन मातृशिशु भवन तथा अङ्कोलोजी, कार्डियोलोजी भवनको पनि वस्तुस्थितिबारे निरीक्षण गरेका छन् । त्यसबारेमा पनि बुझ्ने कार्य भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चूरामणि पोखरेलले जानकारी दिए ।

त्यस्तै निर्माणाधीन सि.टि.भि.एस. शल्यक्रिया कक्ष र विस्तारित ३० बेड सघन उपचार कक्षको पनि निरीक्षण गरेको उनले जानकारी दिए ।

निरीक्षणको क्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेल, स्वास्थ्य मन्त्रालय नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य मन्त्री खापुङले रेडियोलोजी विभागमा रहेका समस्यालाई निराकरण गर्नका लागि त्यहाँका चिकित्सकसँग राय लिएका थिए ।

त्यस्तै प्रतिष्ठानको आकस्मिक कक्षको निरीक्षण गर्दै समाचारमा आएभन्दा व्यवस्थित रहेको उल्लेख गरे । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानमा अङ्ग प्रत्यारोपण केन्द्र बनाउने योजना रहेको बताएका थिए ।

त्यस्तै विगत केही समयदेखि घोपा बचाउ अभियानका नाममा भइरहेको आन्दोनलको माग पूरा भएको स्वास्थ्य मन्त्री खापुङले बताए । अभियानको मागलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट स्वास्थ्य मन्त्री, प्रतिष्ठानका उपकुलपति डा. गिरी र अभियानका संयोजक सुदन गुरुङबीच पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर भएको सह–प्रवक्ता डा. पोखरेलले जानकारी दिए ।