बिर्तामोड । बिर्तामोड नगरपालिकामा फोहोर नउठेको एक महिना बित्न लाग्यो । अहिले नाक नथुनी बिर्तामोडमा हिड्न नसक्ने अवस्था छ । दुर्गन्धका कारण रोगको संक्रमण फैलिने खतरा छ । फोहोर ब्यवस्थापन हुन नसक्दा भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आलोचनाको शिकार भएका छन् ।

बिर्तामोडको फोहोर ब्यवस्थापन गर्ने जिम्मा काठमाण्डौको निराकार सरसफाई सेवा प्रालीले लिएको छ । बिगत १ बर्षदेखि सो कम्पनिले फोहोर संकलन र ब्यवस्थापन गर्दै आएको छ । तर, एक महिनादेखि फोहोर नउठ्दा बिर्तामोडमा बस्न नसक्ने गरी दुर्गन्ध फैलिएको छ ।

निराकार र बिर्तामोड नगरपालिकाबीच फोहोर संकलन र ब्यवस्थापन गर्ने बिषयमा भएको सम्झौता अनुसार नगरपालिकाले ‘डम्पिङ साइट’ को ब्यवस्था गर्नुपर्छ । निराकारले शहरमा संकलित फोहोरलाई सो स्थानमाम लगेर ब्यवस्थापन गर्नुपर्छ । तर, साउनदेखि नगरपालिकाले डम्पिङ साइटको ब्यवस्थापन गर्न नसक्दा निराकारले फोहोर फ्याल्न पाएको छैन ।

असारसम्मका लागि कनकाई नगरपालिका–८ नम्बर वडासँग सम्झौता गरेर बिर्तामोडले फोहोर बिसर्जन गर्दै आएको थियो । सो सम्झौताको अवधि सकिएपछि फोहोर ब्यवस्थापन गर्ने स्थानको अभाव भएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष अग्नि पाण्डेले बताए । उनले अहिले पनि नगरका जनप्रतिनिधि डम्पिङ साइटको खोजीमा निरन्तर लागिरहेको जानकारी दिए ।

‘हामी फोहोर ब्यवस्थापन गर्ने ठाउँ खोज्दै जहाँ जान्छौं, त्यही बिरोध हुन्छ, प्रवक्ता पाण्डेले भने– ‘मान्छे यति संकिर्ण भएछन भने नि एउटा वडाको फोहोर अर्काे वडामा लगेर फाल्न पनि अवरोध गर्न थालेका छन् ।’ उनले प्रशासनको सहयोग लिएर भएपनि नगरपालिका क्षेत्रमा रहेका सरकारी जमिनमा फोहोर बिसर्जन गर्ने तयारी शुरु गर्न लागिएको बताए । चाँडै नै फोहोरको समस्या समाधन गर्न नगरपालिका तत्पर रहेको पाण्डेले जानकारी दिए ।

बिर्तामोडको वडा नम्बर १, २, ३, ४, ५ र ६ नम्बर घना शहरी क्षेत्र हो । यहाँ दैनिक १५ टन फोहोर उत्पादन हुने निराकार सरसफाई सेवा प्रालीले जनाएको छ । प्रदेशकै ठुलो कृषि उपज थोक बजार बिर्तामोडमा रहेका कारण पनि फोहोरको परिमाण अझ बढी हुने जनाइएको छ ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको संयुक्त लगानीमा कनकाई नगरपालिकामा कुहिने फोहोरबाट उर्जा उत्पादन गर्ने प्लाण्ट निर्माणको अन्तिम तयारीमा छ । कुनै संकट नआए आगामी तीन महिनाबाट त्यो प्लाण्ट सञ्चालन हुने योजना छ । प्लाण्ट सञ्चालन भए बिर्तामोडको फोहोर ब्यवस्थापनमा आंशिक सहज हुने बिश्वास नगरको छ ।