धरान (ब्लाष्ट) धरान–१२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा शनिबार निक्कै भीडभाड थियो । 

विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झा विद्यार्थी र अभिभावकका कुरा सुन्न र उनीहरुलाई कक्षा कोठा देखाउन व्यस्त थिए ।  सह–प्रधानाध्यापक लेखनाथ भट्टराई, ओकर्डिनेटर वीरेन्द्रबहादुर साह लगायत शिक्षक शिक्षिका र विद्यालयका कर्मचारी पनि अभिभावक र शिक्षकलाई कक्षा कोठा देखाईरहेका थिए । नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई लिएर उनीहरुका अभिभावक विद्यालयमा उपस्थित थिए । करिब ३ सय सिटका लागि शनिबार ६ सय २० जना विद्यार्थीले पब्लिकमा प्रवेश परीक्षा दिएका छन् ।

IMG_7328

अभिभावकहरु नीजि विद्यालयमा पढिरहेका आफ्ना छोराछोरी पब्लिकमा भर्ना गराउन चाहान्छन् । त्यसमध्येकी एक हुन् धरान १५ महेन्द्र राजपथकी पुष्पा श्रेष्ठ । नवज्योति स्कुलमा पढ्दै गरेको आफ्नो नानीलाई पब्लिकमा प्रवेश परीक्षा दिन ल्याएकी उनी भन्छिन्, ‘पहिलादेखि नै छोरी पनि यहिं पढ्छे । अहिले गाडि पनि जाने भएकाले सजिलो छ, पढाई पनि राम्रो होला भन्ने आशा छ ।’ धरान–१४ विजयपुरकी सावित्री शंकरले पनि पब्लिकमा राम्रो पढाई हुने विश्वासका साथ नानीलाई प्रवेश परीक्षा दिन ल्याएकी हुन् । आइडल स्कुलमा पढ्ने नानीलाई पब्लिकमा ल्याउन चाहेकी उनी भन्छिन्, ‘यहाँ पनि इङ्लिस मिडियम छ । पढाई पनि राम्रो छ ।’

धरानबाट मात्र होईन प्रवेश परीक्षा दिन आफ्ना बालबच्चा ल्याउनेहरु टाढादेखि पनि आएका भेटिए । सुनसरीको भोक्राहा नर्सिङ–३ बाट छोरालाई लिएर आएका थिए, सुलभ यादव । २ कक्षा पास गरेको छोरालाई उनी पब्लिक हाईस्कुलमा ३ कक्षामा भर्ना गराउन चाहान्छन् । उनको ठूलो छोरा पनि यहिं पढेर यसपटक एसईई दिने तयारीमा छन् । ठूलो छोराको पढाई राम्रो भएको देखेर सानोलाई पनि प्रवेश परीक्षा दिन ल्याएको उनी बताउँछन् । भन्छन्, ‘टाढा भएपनि यहाँ थोरै पैसा तिर्नु पर्ने भएकाले उता बोर्डिङ स्कुलमा तिर्ने पैसा यहाँ कोठा भाडा तिर्न हुन्छ । पढाई राम्रो भएकाले नै यहाँ ल्याएको हुँ ।’

डा.महानन्द तिम्सिना पनि बालबच्चा लिएर प्रवेश परीक्षाका लागि पब्लिक स्कुल पुगेका थिए । उनीसँगै ७÷८ जना बालबालिका प्रवेश  परीक्षामा सहभागी भए । उनीहरु सबै विष्णु मेमोरियल स्कुलबाट आएका थिए । त्यो समूह पहिला दिल्लि पब्लिक स्कुलमा पढ्थ्यो । त्यहाँको सामाजिक विषयमा भारतका बारे पढाई हुने तर नेपालका बारेमा नहुने पाएपछि अभिभावकहरुले विष्णुमेमोरियल लगेको र अहिले त्यहि समूह पब्लिकमा आएको डा.तिम्सिनाले बताए । उनले भने, ‘यहाँको भौतिक पूर्वाधार र पठन पाठन राम्रो भएकाले विद्यार्थी ल्याएका हौं ।’ पब्लिकका प्रधानाध्यापक झा विद्यालयमा चार वटा बस ल्याइएपनि विद्यार्थीको संख्या बढेकाले नर्सरीदेखि कक्षा ५ सम्मका लागि विहानको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् । उनले अभिभावकको विश्वासका कारण विद्यार्थी संख्या बढेको बताए । उनले भने, ‘हामी क्षमताले भ्याएसम्म विद्यार्थी राख्छौं तर नभ्याउने अवश्था भए राख्न सक्दैनौं ।’

IMG_7322

विद्यालयले सोहि अवसरमा अभिभावकलाई विभिन्न विषयमा जानकारी समेत गराएको थियो । कार्यक्रममा प्रधानाध्यापक झा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्की र शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राईले अभिभावकलाई विद्यालयका विषयमा जानकारी गराएका थिए ।पब्लिकको विद्यार्थी भर्ना कार्यक्रम हेर्न पुगेका धरान उपमहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढ्नुले शिक्षाको गुणस्तर वृद्धि भईरहेको बुझ्न सकिने बताउँछन् । उनी भन्छन्, ‘सामुदायिक विद्यालयलाई सबैको साथ सहयोग आवश्यक छ ।’

IMG_7323