धरान । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडुवामा एक वृद्धाको रहस्यमय तरिकाले मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ७२ वर्षीया सुखीदेवी चौधरीको घरमै शङ्कास्पद तरिकाले मृत्यु भएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुवासचन्द्र बोहोराले बुधबार राति करिब ८ बजेतिर मृत्यु भएपछि घटनाको अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार मृतकका पति बच्चुलाल चौधरी बजार गएको र साँझमा घर पुग्दा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर आएको थियो ।

मृतकले कानमा लगाएको सुन र घरमा राखिएका गहनासमेत हराएकाले घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ । शवमा चोटपटक भने नभएको जनाइएको छ । प्रहरी टोलीले राति नै शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि उदयपुर अस्पताल लगेको छ भने घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।