धरान । धरानको खानेपानी आयोजनाको वास्तविकता अध्ययन एवम् समस्या तथा समाधानका उपायहरू पहिचान गर्नका लागि खानेपानी मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिलाई पन्ध्र दिनको समयसीमा दिइएको छ । उक्त समयसीमाभित्र धरानको खानेपानी आयोजनाको वास्तविकता अध्ययन गर्दै यहाँ देखिएका समस्या र समाधानका उपायहरूको पहिचान गर्ने गरी समिति गठन गरिएको हो । समितिमा आयोजना निर्देशकका रूपमा क्षेत्रीय सहरी विकास आयोजना काठमाडौंका संयोजक सुरेन्द्रमोहन श्रेष्ठ रहेका छन् ।
त्यस्तै खानेपानी मन्त्रालयबाट एकजना प्रतिनिधि, धरान उपमहानगरपालिकाबाट योजना महाशाखाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठ, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, र सदस्य–सचिवमा सहरी विकास मन्त्रालयका उपसचिव डिल्लीराज श्रेष्ठ रहेका छन् ।
उक्त समितिले धरानको खानेपानीको समस्या पहिचान गर्दै समाधानका लागि थप बजेट माग गर्ने गरी प्रतिवेदन तयार गरिने धरान उपमहानगरपालिका प्रमुख सचिवलाय सदस्य विजय घिमिरेले जानकारी दिए । उनका अनुसार एसियाली विकास बैङ्क (एडीबी) को ऋण अनुदानमा सञ्चालित धरानको खानेपानी आयोजनामा देखिएका समस्याहरूको पहिचान गर्दै समाधानका लागि पहल गर्नेछ ।
समितिले १५ दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्ने जनाइएको छ । धरानको खानेपानी समस्या समाधान गर्दै थप बजेटका लागि मन्त्रालयमा धरान उपमहानगरपालिकाको टोली डेलिगेसनमा गएको थियो ।
सोमबार मात्रै मन्त्रालयमा छलफल भएको थियो । मन्त्रालयले धरान उपमहानगरपालिकालाई सदस्यका लागि आग्रह गरेसँगै नगर प्रमुख तिलक राईले बुधबार योजना शाखाका प्रमुख श्रेष्ठलाई सदस्यको जिम्मेवारी दिएका छन् । एडीबीको ऋण अनुदानमा सञ्चालन भएको खानेपानीले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार उत्पादन नगरेको भन्दै नगरवासी आक्रोसित छन् ।