विराटनगर । मोरङको सुन्दरहरंैचना नगरपालिका–७ का १८ महिना एक बालिकाको रहस्यमय मृत्यु भएको छ ।

प्रहरीका अनुसार शुक्रबार पाँच बजे घरबाट हराएकी बालिका घरदेखि करिब १ सय मिटर पश्चिम झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान १ बजे नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

बालिकाको गुप्ताङ्ग रक्ताम्य हुनाले बलात्कार भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । ‘बालिका मृत्युको घटना रहस्यमय रहेको छ, घटनास्थलमै पुगेर अनुसन्धान सुरु गरेको छु’ एसपी जिसीले भने, ‘घरदेखि कसरी १ सय मिटर पश्चिममा बालिका पुगिन् । त्यही पत्ता लगाउने प्रयासमा रहेका छौं । हामीले सबै कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरेका छौं ।’

घटनास्थलमा मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङ, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर सरोज खनाल पुगेर अनुसन्धान थालेका छन् ।  बालिकाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीले जनाएको छ ।

बेलुका ५ बजेबाट हराएकी बालिका घरपछाडि रहेको झाडीमा ६ बजेतिर भेटिएपछि अस्पताल लगिएको थियो । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मुकारुङले जानकारी दिए । ‘सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘हामीले घटनाका विषयमा बुझ्ने कामहरू भइरहेको छ ।’