विजयपुर । झापाको दमकका लागि छुटेको यात्रुवाहक बस सङ्खुवासभाको मादी नगरपालिका–६ ओखरभोटेबाट छुटेको ३० मिनेट नबित्दै दुर्घटना हुन पुग्यो ।

मादी–६ पुलुङस्थित सातघुम्तीमा यात्रुवाहक बस दुर्घटनामा परेका घाइते सुवास तामाङका अनुसार बस छुटेको तीस मिनेटमै दुर्घटनामा परेको बताए । त्यसभन्दा अगि नै प्राविधिक समस्या आएको सङ्केत पाएका थिए ।

बुकिङ काउन्टरका कर्मचारीसमेत रहेका तामाङले चालकलाई सोधेका थिए, ‘दाइ, गाडीमा समस्या भएको हो ?’ चालकले गाडीमा प्राविधिक समस्या भएको जनाउ दिँदै हाम्फाल्न निर्देश पनि गरेका थिए । ओखरभोटेबाट ६ बजे बस छुटेको थियो । पहिलो घुम्ती पार नगर्दै एक्कासि गाडी अनियन्त्रित भएजस्तो लागेपछि उनले चालकलाई सोधेको उनी बताउँछन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचाररत तामाङ दैनिक ओखरभोटेदेखि पिलुवाखोलासम्म आउने–जाने गर्दथे । ब्रेक र स्टेयरिङ फेल भएका कारण दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा चालकको पनि मृत्यु भयो । दुर्घटना हुनुपूर्व नै अनियन्त्रित भएपछि अन्य घुम्तीहरू पार नगर्दै उनलाई हाम्फाल्नका लागि चालकले अनुरोध गरेका थिए । तामाङ भन्छन्, ‘चालकले भाइ हाम्फाल भने । म पछाडि भएकाले हाम्फाल्न सकिनँ ।’

त्यसपछि गाडी सडकबाहिर गएको उनले बताए । ३ बल्ड्याङ अर्थात् १ सय मिटर तल पुगेपछि बस रुखमा अड्कियो । त्यहीबेला तामाङले हाम्फालेर बाँच्न सफल भएको बताए । उनले भने, ‘चालक पनि हाम्फालेका थिए । चालक विपिन निरौला हाम्फालेतिरै बस पल्टिएछ । उहाँको मृत्यु भएछ ।’

उनका अनुसार बस रुखलगायतमा ठोक्किएर टुक्राटुक्रा हुँदै झरेको थियो । प्रतिष्ठानमै उपचाररत अर्का घाइते डम्बरबहादुर कार्की वसन्तपुरसम्मको यात्रामा थिए । उनले बस चढेको करिब ५ मिनेटमा नै बस दुर्घटनामा परेको बताए ।

उनका अनुसार बस दुर्घटना हुनुभन्दा केही अघि बसमा ठूलो आवाजमा आएको थियो । आवाज आएपछि गाडीमा समस्या आएको थाहा भयो । उनले आफूले चालकलाई गाडी रोक्न भनेको तर, गाडी नरोकिएको बताए । उनले भने, ‘गाडी रोक्न भनेर हल्ला पनि गरेँ । गाडीमा ब्रेक नै लागेन ।’

उनका अनुसार गाडी अनियन्त्रित समेत  भएको थियो । उनले भने, ‘स्टेयरिङ नकाटिएको कारणले दुर्घटना भयो ।’ उनले बस रुखमा ठोक्किएर टुक्राटुक्रा भएको बताए । ‘सखुवाको रुख भाँचियो’–उनले भने । कार्कीका अनुसार बस विभिन्न स्थानमा ठोक्किँदै झरेको थियो ।