सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा परि मृत्यु हुने १५ जना मध्ये १२ जनाको सनाखत भएको छ । मृत्यु हुनेहरूमा सङ्खुवासभा मादी नगरपालिका ६ की ३० वर्षीय सिता बि.क., ३२ वर्षीय अञ्जना कटुवाल, वर्ष ५ की दीक्षा कटुवाल, ५ नम्बर वडा बस्ने ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय, दीपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, वडा नम्बर २ का ४२ वर्षीय इन्द्र अधिकारी, वडा नम्बर ४ का ६० वर्षीय सबिता कार्की, ६० वर्षीय बल बहादुर कार्की, ताप्लेजुङ की ३१ वर्षीया समिक्षा याेञ्जन र उनका ८ वर्षीय छोरा सुदिप घिसिङ र बस चालक तेह्रथुम फाक्चामारा का ३१ वर्षीय विपिन निरौला रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएकोमा मादी ५ नम्बर वडाकी २७ युका पोखरेलको भने प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वक्ष सुबेदीले बताएका छन् ।
अन्य उद्धार गरिएका घाइतेहरूमा मादी नगरपालिका ६ का ५० वर्षीय डम्बर बहादुर कार्की, २२ वर्षीया तुलसा कटुवाल, ४ नम्बर वडा उम्लिङ्की २४ वर्षीय करिश्मा तामाङ, २४ वर्षीय सुवास तामाङ रहेका छन् । मृतक अन्य दुई जनाको भने सनाखत हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
मादीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरकाे १९ जना सवार उक्त यात्रुवाहक बस आज बिहान साढे ७ः३० बजे मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियाे । दुर्घटनामा बस सडकबाट करिब ३५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
ओरालाे र घुम्ती बाटो भएकोले बस तीव्र गतिमा भएका कारण घुम्ती काट्न नसकेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि बसमा समस्याका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक सुबेदीले बताए ।
तस्विरहरूः सामाजिक संञ्जालबाट