विराटनगर । जबरजस्ती करणी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका राजेश धिमाल छालाको समस्याले आजित छन् । त्यही कारण रातभरि सुत्न सक्दैनन् ।
कारागारमा स्वच्छ पानीको व्यवस्था नहुँदा धिमाललाई छालाको रोग देखापरेको छ । ‘अहिले शरीर चिलाउने गरेको छ । तिघ्रामा दाग पनि आएको छ । कारागारभित्र शुद्ध पानी नहुँदा थुप्रै रोगले समाएको छ’ उनले भने, ‘दूषित पानीकै कारण रोग देखापरेको हो ।’ दूषित पानीकै कारण बर्सेनि बिरामी बढिरहेको कैदीबन्दीको भनाइ छ ।
छालासम्बन्धी रोगबाट पीडित बनेका धिमाल एक्ला पात्र हैनन् । अहिले मोरङ कारागारभित्र छालासम्बन्धी बिरामी २ सय ६ जना कैदीबन्दी रहेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले बताए । ‘छालाको समस्या देखिएका कैदीबन्दीहरूमा लुतो र दादको समस्या बढी नै देखिएको छ’–उनले भने । कारागारका कैदीबन्दीहरूले दूषित खानेपानी पिउन बाध्य भएको गुनासो गरेका छन् । खानेपानीकै कारण कैदीबन्दीमा छालासम्बन्धी समस्या देखिएको चौकीदार गिरीले बताए ।
मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी छन् । ३ सय जना क्षमता रहेको कारागारमा ९ सय ६८ कैदीबन्दी छन् । खानेपानी दूषित हुँदा अन्य खालका स्वास्थ्य समस्या पनि देखिँदै गएको चौकीदार गिरीले बताए । ‘कारागारमा २ सय ६ जना छालाका बिरामी छन्’ उनले किटेरै भने, ‘धाराको पानीले पुग्दैन, कैदीबन्दीले भूमिगत पानी प्रयोग गर्नुपर्छ ।’
अहिले कारागारभित्र तीनवटा ट्युवेल छन् । ट्युवेलमा दूषित पानी आउने गरेको कैदीबन्दी बताउँछन् । सफा खानेपानी, बोरिङ गरेको पानी र फिल्टरको माग गरिएको उनले बताए । कारागारमा यही पानीकै कारण धेरै बिरामी पनि छन् । तर, पनि दूषित खानेपानी खान बाध्य हुनुपरेको जबरजस्ती करणी मुद्दाका अर्का कैदी सूर्य विकले बताए ।
‘शरीरभरि दाग आएको छ । चिलाएर हैरानी भइसक्यो’ उनले भने, ‘राति भएपछि झन् धेरै चिलाउने गरेको छ ।’ कैदीबन्दीहरूमा छाला, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी पनि उत्तिकै रहेको कारागारले जनाएको छ । शुद्ध खानेपानीको लागि पटक–पटक कारागार प्रशासनसँग माग राख्दा पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूले बताएका छन् ।
पानीका कारण स्वास्थ्यमा समस्या आएको गुनासो गरेपछि पानी जाँच गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको जेलर महेन्द्र खड्काले जानकारी दिए । कोसी अस्पतालका छालारोग विशेषज्ञ डा. असित घिमिरेले दूषित पानीको कारणले छालाको समस्या आउने गरेको बताए ।
‘तीन वर्षअगाडि पनि मोरङ कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य जाँच गर्न पुगेका थियौँ । त्यसबेलामा धेरै कैदीबन्दीहरूमा छालाका बिरामी भेटिएका थिए’ डा. घिमिरले भने, ‘दूषित पानीको कारणले एक जना कैदीबन्दीलाई छालाको रोग लाग्यो भने सबैतिर फैलिन सक्ने अवस्था छ ।’
दूषित पानीको प्रयोग, सफासुग्घर नहुनु र साँघुरो ठाउँमा धेरै जना भएकाले कैदीबन्दीमा बिरामी हुने समस्या देखियो । ट्याङ्कीको पानी सफा छैन । यहाँका कैदीबन्दीहरूको बाथरुम, कपडादेखि सुत्ने ठाउँ र शौचालय एउटै छ । त्यसैको कारणले एक जनामा छालाको समस्या देखापरेपछि एकपछि अर्कोलाई सर्ने गरेको देखिएको उनी बताउँछन् ।
छाला रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने र कारागारभित्रको हकमा मापदण्डअनुसार कैदीबन्दी राख्नुपर्ने डा. घिमिरेले सुझाव दिएका छन् । मोरङ कारागारमा ६८ जना महिला र ८ सय ९७ जना पुरुष कैदीबन्दी छन् । साथै तीन जना आश्रित बालबालिका छन् ।
जसमा पुरुषतर्फ ४ सय ७५ जना कैदी र ४ सय १९ जना पुर्पक्षको लागि थुनामा बन्दी रहेका छन् । ६८ जना महिलामध्ये ३८ जना पुर्पक्षको लागि थुनामा रहेको र ३० जना कैदी रहेको कारागारले जनाएको छ ।