विजयपुर । धरानको सर्दुखोला, सेउती र अँधेरी खोला किनार आसपासका क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी तीव्र रूपमा किनबेच भइरहेको छ । तर, यसको नियन्त्रणमा नियामक निकायले चासो राखेको देखिँदैन ।
राजनीतिक दलकै नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूकै संलग्नतामा खोलाको जग्गा किनबेच हुने गरेको हो । सर्दुखोला अतिक्रमण गरी किनबेच भइरहेको सार्वजनिक भइसकेको छ । साथै सेउती खोलाको आसपासमा पनि अतिक्रमण गरी बस्ती बस्ने काम भइरहेको छ । यसमा कतै न कतै राजनीतिक दल र जनप्रतिनिधिको संलग्नता भइरहेको पाइन्छ ।
सर्दुखोला किनारको जग्गा अतिक्रमण गरी किनबेच भएको समाचार ब्लाष्टमा प्रकाशित भएपछि भने उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, धरान उपमहानगर प्रमुख तिलक राई, वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) लगायतले गत सोमबार अनुगमन गरेका थिए ।
अनुगमन गरे पनि उठाउन वा नियन्त्रण गर्न पहल भने गरिएको छैन । अनुगमन औपचारिकतामा सीमित देखिन्छ । प्रमुख जिल्ला अधिकारी यादवले गत सोमबार अनुगमन गरेको र सरोकारवाला पक्षसँग छलफल गरेर त्यस्ता बस्ती उठाउने बताए । उनले भने, ‘राजनीतिक दलको प्रतिबद्धता आउनुपर्यो, उठाउँछौं ।’
तर, राजनीतिक दलहरूले भने आफ्नो संलग्नता नभएको दाबी गरेका छन् भने उठाउन पहल गर्ने बताएका छन् । नेकपा (एमाले) धरानका अध्यक्ष हर्क एभेङले अतिक्रमणमा आफ्नो दलको संलग्नता नभएको दाबी गरे । उनले भने, ‘हाम्रो संलग्नता छैन । कसैको छ भने उहाँहरूले जान्नुहुन्छ ।’ उनले भोलिको सम्भावित खतरालाई मध्यनजर गरी रोक्न पहल गर्ने बताए ।
नेपाली काङ्ग्रेस धरानका अध्यक्ष श्याम पोखरेलले पनि आफ्नो दलको संलग्नता नभएको दाबी गरे । उनले भने, ‘पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता देखिए कारबाही गर्छौं ।’ उनले आफूले अतिक्रमणका विषयमा चासो राखिरहेको दाबी गरे । उनले अतिक्रमणलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले भने, ‘स्थानीय सरकारले नियन्त्रण गर्नुपर्यो भनिरहेका छौँ, उपमहानगर प्रमुखले पनि नियन्त्रण गर्ने भन्नुभएको छ, नयाँ बस्ती उठाउनु पर्छ ।’
माओवादी केन्द्र धरानका पूर्व अध्यक्ष सुदर्शन श्रेष्ठले पनि आफ्नो दलको संलग्नता नभएको दाबी गर्दैै कुनै नेता कार्यकर्ताको संलग्नता भेटिएमा कारबाही गर्ने बताए । उनले भने, ‘संलग्नता भएको पुष्टि भए स्पष्टीकरण सोध्छौँ र कारबाही गर्छौं ।’ उनले उपमहानगरको सम्झौताविपरीत गलत ढङ्गले कसैले गरिखाने भाँडो बनाउँछन् भने कारबाही हुने बताए । उनले स्थानीय सरकारले नियन्त्रण गर्नुपर्ने बताए । उपमहानगरलाई नियन्त्रण गर्नका लागि धयानाकर्षणसमेत गराइरहेको बताए ।
जनता समाजवादी नेपाल धरानका अध्यक्ष ताजुव लिम्बूले आफू र आफ्नो दल अतिक्रमणका विषयमा सचेत रहेको बताए । उनले नियन्त्रणका लागि मेयरलाई बारम्बार ध्यानाकर्षण गराएको बताए । उनले भने, ‘राजनीतिक दलको नाम लिँदै अतिक्रमण गरिरहेका छन् । यो विषय मेयरलाई भनिरहेका छौँ । खासै रोक्नका लागि प्रभावकारी कार्य भएको पाइँदैन ।’
उनले करिडोर निर्माणका लागि पनि अवरोध भइरहेको बताए । उनले उक्त क्षेत्रमा बाढी पस्ने जोखिम पनि रहेको र हामीलाई नै समस्या पर्ने भएकाले रोक्नुपर्ने बताए । ‘दलीय संयन्त्रमा राजनीतिक दलको कार्यकर्ता राखेको भए पनि रोकिदिनुप¥यो भनेका छौँ’ उनले भने, ‘उपमहानगरले सक्दैन भने राजनीतिक दलले रोक्छ ।’ लिम्बुवान मञ्च नेपाल धरानका अध्यक्ष सञ्जुहाङ सावाँले खोला किनारछेउमा अराजकता मच्चिरहेको बताए । उनले समूह नै लगाएर रोक्ने कार्य पनि गरेको बताए ।
उनले रोक्नका लागि मान्छे पक्राउसमेत गरेको बताए । उनले भने, ‘राति दुई–चारवटा, दिनमा दुई–चारवटा टहरा बन्छन् ।’ पक्राउ परेकाहरू पनि राजनीतिक संरक्षणबाट उम्किने गरेको उनको भनाइ छ । उनले नयाँ बसोबास गरेकालाई हटाउनु पर्ने र पुरानालाई व्यवस्थापन गर्नुपर्ने बताए । उनले भने, ‘पीडित नै हुन् भने व्यवस्थापन गर्नुपर्छ ।’ उपमहानगर प्रमुख तिलक राईले पनि अतिक्रमण रोक्नुपर्ने बताउँदै आएका छन् ।
त्यसो भए अतिक्रमण रोक्न र उठाउनका लागि किन सकिरहेको छैन त ? यो भने गम्भीर प्रश्न बनेको छ । प्रमुख जिल्ला अधिकारी यादवले राज्यको जग्गा ढिलोचाँडो खाली गरेरै छाड्ने बताए । उनले भने, ‘गैरकानूनी रूपमा बसोबास गर्ने, सरकारी जग्गा खरिद गर्नेले भोलि खाली गरिदिनुपर्छ ।’