विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले राज्यको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसङ्ख्यकमैत्री नीति निर्माण गरिनुपर्ने माग राखेका छन् ।
मितिनी नेपालले विराटनगरमा आइतबार सरोकारवालाहरूसँग आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक सुमन तामाङले राज्यले यौनिक तथा अल्पसङ्ख्यकहरूलाई वैवाहिक मान्यता नदिँदा हजारौं यौनिक अल्पसङ्ख्यकहरू समस्यामा परेको बताए । ‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसङ्ख्यकहरूले चाहेर पनि विवाह गरेर बस्न पाएका छैनन्’ उनले भने, ‘वैवाहिक मान्यता नपाउँदा उनीहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको छ ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई नागरिकता बनाउन पनि समस्या रहेको उनले बताइन् । ‘अहिले पुरुष र महिलाहरूको लागि मात्र नागरिकता बनाउने गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको नागरिकता नबन्दा रोजगारबाट बञ्चित हुनुपरेको अवस्था छ’ उनले भने, ‘राज्यले अब पहिचानअनुसारको नागरिकता दिनु पर्दछ ।’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले नागरिकता नपाउँदा रोजगारीबाट मात्र नभएर अरू थुप्रै सेवा सुविधाहरूबाट बञ्चित हुनुपरेको अवस्था रहेको उनले बताइन् ।
मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई वैवाहिक मान्यता चाँडो दिनुपर्ने बताइन् । वैवाहिक मान्यता नपाउँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई धर्म सन्तान राख्न पाउनुपर्ने अधिकारबाट पनि बञ्चित हुनुपरेको उनले बताइन् ।
‘अहिलेको कानूनमा विवाह गरेको पुरुष र महिलाको सन्तान भएन भने मात्र धर्म सन्तान राख्न पाउने व्यवस्था गरेको छ । तर, हाम्रो हकमा यस्तो व्यवस्था छैन । त्यसैले राज्यले हामीलाई विभेद गरेको छ’ उनले भनिन्, ‘त्यसैले राज्यले बनाउने नीति तथा कानून यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री बनाउनु पर्दछ ।’