विजयपुर । धरान बजारमा व्यापारीहरूले आफूखुसी मूल्य वृद्धि गर्दा उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न नेपाल नागरिक समाज सुनसरीले माग गरेको छ ।
समाजले सोमबार धरान उपमहानगरका प्रमुख तिलक राईलगायतलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमनको माग गरेको हो । पत्रमा कोरोनाको महामारीको तेस्रो लहर चलिरहेको बेला दैनिक उपभोग्य सामग्री तथा स्वास्थ्य सामग्रीको कृत्रिम अभाव सिर्जना गरी व्यवसायीले आफूखुसी मूल्य वृद्धि गरेको उल्लेख छ ।
व्यवसायीले कालोबजारी गरी उपभोक्तालाई मारमा पार्दै आए पनि स्थानीय सरकारले प्रभावकारी बजार अनुगमन गरी नियन्त्रण नगरेकाले बजार अनुगमन गरी नियन्त्रण गर्न माग गरिएको समाजका कार्यवाहक दिवस पोखरेलले बताए । उनले नागरिक समाजलाई पनि अनुगमन गर्दा सहभागी गराउन माग गरे ।
समाजका प्रमुख सल्लाहकार किशोर राईले अनुगमन गरी कालोबजारी नियन्त्रण गर्न र दैनिक उपभोग्य वस्तुको मूल्यसूची सार्वजनिक गर्न उपमहानगरलाई माग गरे । उनले भने, ‘कम्तीमा उपमहानगरले मूल्यसूची सार्वजनिक गरे ठगिने थिएनन् ।’ उनले अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जान पनि डर लाग्ने अवस्था भएको बताए । उनले भने, ‘हामी जत्तिको मान्छेलाई समस्या हुन थाल्यो भने सर्वसाधारणको अवस्था के होला ?’ उपमहानगरले समस्या समाधानका लागि सहजीकरण गर्नुपर्ने धारणा राखे ।
उनले जिल्ला प्रशासनलगायतका कर्मचारीहरूसँग स्थानीय उपमहानगरले समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने बताए । मुलुक सङ्घीयतामा गएपछि बनेका स्थानीय सरकार विगतको जस्ता नभएको साथै ऐन कानून पनि नयाँ भएकाले सहजीकरणका लागि कम्तिमा उपमहानगरले कानूनी सचेतनाका लागि पहल गर्नुपर्ने उनले धारणा राखे । समाजका सचिव उद्धव अधिकारीले नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने बताए ।
उपमहानगरका प्रमुख तिलक राईले विभिन्न समयमा अनुगमन भइरहेको बताए । उनले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिपर्ने बताए । बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बजार अनुगमन गरिरहेको बताए । उनले बजारको प्रभावकारी अनुगमनका लागि उपभोक्ता पनि जागरुक हुुनुपर्ने बताए ।