धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेपाल तामाङ घेदुङको अभियानले तामाङ जातिलाई सशक्तीकरण हुन सहयोग पुर्याएको बताए । 

धनकुटा नगरपालिका वडा नं.४ मा रहेको ह्रिन्छेन छ्योलिङमा २८५८ ताक ल्हो (बाघ वर्ग) सोनाम ल्होसार नयाँ वर्षको अवसरमा नगर घेदुङ धनकुटाले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तामाङले यस्तो बताएका हुन् । 

तामाङ घेदुङले सञ्चालन गरेको सचेतनामूलक अभियानले पछिल्लो समयमा तामाङ जाति पनि क्रमशः राज्य हरेक क्षेत्रमा पुग्न सफल भएको बताउँदै प्रमुख तामाङले घेदुङ अझै सक्रिय भएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले तामाङ जाति आफै पछि परेको जाति नभै राज्यको नीतिको कारण पछि परेको वा पारिएको बताए । मुलुकमा लोकतन्त्र गणतन्त्र आए पछि वनेको समावेशी संविधानले गर्दा तामाङ जाति मात्र नभएर सिङ्गो आदिवासी जनजातिहरू राज्यको पहुँचमा पुग्न सफल भएको प्रमुख तामाङले दाबी गरे । हरेक जातिले सभ्य नागरिकको परिचय दिन शिक्षा क्षेत्रमा जोड गर्न सके राज्यद्वारा पछि पारिएका समुदाय राज्यको हरेक निकायमा पुग्न सक्ने बताए । नगर प्रमुख तामाङले सोनाम ल्होसार ताक ल्हो (बाघ वर्ष) को अवसरमा सम्पूर्ण नगर बासीहरूमा शुभकामना व्यक्त गरे । 

सो अवसरमा उनले धनकुटा जिल्लाको सदरमुकाम धनकुटा बजारमा वौद्धमार्गी समुदायको पहलमा निर्माण भइरहेको वौद्धगुम्बाको निरीक्षण समेत गरेका थिए । उनले स्थानीय समुदायको पहल गुम्बा निर्माण भइरहेको देख्न पाउँदा आफूलाई खुसी लागेको समेत बताए । गुम्बा बौद्ध धर्मको वास्तु शास्त्र अनुसार निर्माण भइरहेको आफूले पाएको सो अवसरमा उनले बताए । गुम्बा निर्माण बौद्ध मार्गी समुदायको मात्र नभएर सिङ्गो धनकुटाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनले बताए । धनकुटाको भोटे चौतारामा निर्माण भइरहेको गुम्बा धनकुटाको गहनाको रूपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको प्रमुख तामाङले बताए ।

सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सञ्जय सन्तोषी राईले आदिवासी जनजातिहरूको मौलिक चाडपर्वहरूमा बिदा नदिएको गुनासो गरे । उनले किराँत जातिको ऐलेदोङ, तामाङ, गुरुङ, शेर्पा र अन्य आदिवासी जनजाति समुदायको मौलिक पर्वहरूमा एक दिँदै आएको बिदा कटौती गरेको प्रति आपत्ति जनाए । आदिवासी  जनजातिहरूको मौलिक पर्वहरूमा बिदा कहिले दिने नदिने गरेको भन्दै त्यसो नगरी राज्यले सबै नागरिकलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गरे ।   

नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुल बहादुर तितुङ तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान धनपा वडा नं.४ का वडा सदस्य होमबहादुर अधिकारी, घेदुङका संघिय सदस्य लालचन्द्र गोङवा, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, उधोग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ तामाङ, तामाङ घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङ, म्हानिपा घेदुङ धनकुटाका उपाध्यक्ष पेमा लामा, नेपाल तामाङ नगर समितिका पूर्व अध्यक्ष गंगाबहादुर तितुङ लगायतले शुभकामना मन्तव्य गरेका थिए । 

सो अवसरमा तामाङ संस्कृतिमा आधारित डम्फूरेहरुले डम्फु सेलोमा प्रस्तुत दिएका थिए । नगर घेदुङ धनकुटाले आगामी माघ १९ गते देखी सुरु हुने सोनाम ल्होसारको पुर्वसन्ध्यामा धनकुटामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा बसोबास गर्ने तामाङ दाजु भाइ तथा दिदिबहिनीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर घेदुङका सचिव बागवीर तामाङले गरेका थिए ।