यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले सुत्केरी र गर्भवती महिलाहरूलाई पोषणयुक्त सामग्री वितरण गरेको छ । 

गाउँपालिकास्थित वडा नं –३ कार्यालयको आर्थिक सहयोगमा वडाका ५५ जना सुत्केरी र गर्भवती महिलाहरूलाई पौष्टिक युक्त सामग्री वितरण गरेको हो । 

बालबालिकाहरूलाई कुपोषणबाट बचाउन सुत्केरी र गर्भवती महिलालाई स्वास्थ्य परामर्श दिदैं पोषणयुक्त सामग्री वितरण गरिएको वडाले जनाएको छ । वडाको चालु आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १ लाख रकमबाट पौष्टिक युक्त सामग्री वितरण गरेको वडा अध्यक्ष रामप्रसाद गजुरेलले जनाए ।

वडाले सुत्केरी र गर्भवती महिला सम्मान तथा पोषण सामाग्री वितरण कार्यक्रमबाट सो सामग्री वितरण गरेको हो । चार महिनासम्मका गर्भवती महिलाहरूलाई जनही कुखुराको पोथी, चार केजी चना र मटर गरेको थियो । त्यस्तै गर्भवती महिलालाई कुखुराको भाले, चार केजी चना र मटर वितरण गरेको वडा सचिव फुलकुमार नेम्वाङले बताइन ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सिता आचार्य, विशेष अतिथि कार्यपालिका सदस्य यामकुमारी खड्का वडा सदस्य बाबुराम कार्की लगायतले सहभागीलाई पोषण सामग्री वितरण गरेका थिए ।