धनकुटा । जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
सार्वजनिक सूचना जारी गर्दै बुधबार १२ गतेदेखि लागू हुने गरी आगामी माघ १८ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।
जारी गरिएको सूचनामा नयाँ नागरिकता/नागरिकता प्रतिलिपि/नाबालक परिचय–पत्रसम्बन्धी कार्य, राहदानी वितरण, दु्रत सिफारिस तथा राहदानी प्रयोजनको लागि नागरिकता अभिलेख प्रमाणीकरण, राष्ट्रिय परिचय–पत्रसम्बन्धी कार्य, सङ्घ–संस्था दर्ता, नवीकरण तथा सङ्घ–संस्थासम्बन्धी अन्य कार्यहरू, पेन्सनसम्बन्धी कार्य, हातहतियार नवीकरण तथा विष्फोटक पदार्थ अनुमति–पत्रसम्बन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिसलगायतका सेवा बन्द गरिएको छ ।
त्यस्तै शान्ति सुरक्षासम्बन्धी कार्य, मुद्दासम्बन्धी कार्य, विपद् तथा विपद् व्यवस्थापनसम्बन्धी कार्य, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सुचारु हुने बताइएको छ ।