इनरुवा । माघ ४ गते बर्जु महोत्सवका क्रममा भएको आगजनी र तोडफोड घटना छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयले घटना छानबिनका लागि बनाएको समितिले प्रजिअ समक्ष अनुसन्धान प्रतिवेदन बुझाएको हो । छानबिन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले तोकिएको अवधिभित्र काम सकेर तयार पारिएको प्रतिवेदन सोमबार प्रजिअसमक्ष पेश गरेको बताए ।
उनले आफू संयोजक रहेको समितिले स्थलगत रूपमा घटना विवरण र वस्तुस्थिति बुझेर अध्ययन तथा अनुसन्धानपश्चात् प्रतिवेदन तयार पारेको जानकारी दिए ।
समितिले प्रतिवेदन बुझाए पनि प्रशासनले अहिलेसम्म सार्वजनिक भने गरेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले छानबिन टोलीले बुझाएको प्रतिवेदन केलाउने काम भइरहेकाले सुरक्षा समितिको बैठकमा सो उपर छलफल भएपश्चात् सार्वजनिक गरिने बताए ।
उनले पत्रकार सम्मेलनको आयोजना गरी घटना प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए । प्रतिवेदनको विषयमा तत्काल प्रशासनले केही नबताए पनि घटनामा भएको क्षतिपूर्तिको मुद्दालाई छानबिन समितिले प्राथमिकतामा राखेको बुझिएको छ ।
बर्जु महोत्सव समापनको दिन माघ ४ गते सांस्कृतिक कार्यक्रम हेर्न भेला भएको आक्रोसित भीड भोजपुरी कलाकार खेसारीलाल उपस्थित नभएको भन्दै आगजनी र तोडफोडमा उत्रिएको थियो । सो क्रममा भीडले चारवटा भारतीय स्कारपियोसहित मोटरसाइकलमा आगजनी गरेको थियो । सो क्रममा स्टेज, कुर्सी र साउण्ड सिस्टममा समेत क्षति पुर्याइएको थियो ।
सो घटना छानबिनका लागि ५ गते जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको ५ सदस्यीय छानबिन टोली गठन गरेको थियो ।
टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठका साथै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीसदस्य रहेका थिए । प्रशासनले सो समितिलाई घटना अनुसन्धान गरी प्रतिवेदन बुझाउन ५ दिनको समयावधि दिएको थियो ।