पथरी । दुव्र्यसनमा फसेका स्थानीय युवाहरूलाई दुव्र्यसनमुक्त बनाई समाज निर्माणका लागि सचेत युवाको सक्रिय सहभागिता गराउन पथरीशनिश्चरे नगरका दुई युवाले सुधार केन्द्र सुरु गरेका छन् ।

पथरीशनिश्चरे–९ का विपिन गुरुङ र वडानम्बर १ का मौसम लिम्बूले सपोर्ट पुनस्र्थापना केन्द्र सुरु गरेका हुन् । उनीहरूले वडा नम्बर ७ को मिलन चोकमा मङ्सिर १ गतेबाट पुनस्र्थापना केन्द्र सुरु गरेका हुन् ।

पुनस्र्थापना केन्द्रमा हालसम्म २४ जनाले उपचार तथा परामर्श सेवा लिँदै आएका छन् । सुधार केन्द्रमा युवाहरूलाई परामर्शबाट समस्या समाधान गरिने बताइएको छ ।

सुरक्षाको लागि उनीहरू बस्ने कोठादेखि लिएर भवन वरिपरि ८ वटा सिसी क्यामेरा जडान गरिएको छ । पुनस्र्थापना केन्द्रमा परामर्शकर्ता लक्ष्मण गुरुङ, प्रतिमा गुरुङ, टीकाराम सिग्देल र पाल्तेन शेर्पाले दैनिक परामर्श सेवा दिँदै आएका छन् । पुनस्र्थापना केन्द्रमा बस्नेलाई महिनामा एक पटक डाक्टर ल्याएर चेकजाँच गरिने अध्यक्ष गुरुङले बताए । 

२८ लाख लागतमा सुरु भएको पुनस्र्थापना केन्द्रमा दुव्र्यसनमा फसेका युवाहरूको परामर्श तथा उपचारको लागि केन्द्रले तीन महिनाको ५० हजार र डेढ महिनाको ३५ हजार लिने गरेको छ । दुव्र्यसनमा फसेका कोही गरिब छन् तर, अभिभावकले सुधार्न चाहन्छ भने केन्द्रले त्यस्ता व्यक्तिलाई निःशुल्क पनि सेवा दिने अध्यक्ष गुरुङले बताए । १७ वर्षदेखि ६० वर्षसम्म उमेर समूहलाई सुधार केन्द्रमा राख्ने गरिएको छ ।

पुनस्र्थापना केन्द्र सञ्चालक गुरुङ र लिम्बू पनि कुनै समय दुव्र्यसनमा फसेका युवाहरू हुन् । सुुधार केन्द्रमा तीन महिना बसी उपचारपछि उनीहरू दुवै सुधार भएको बताउँछन् । दुवैजनाले पथरी बजारमा पनि एलाइभ फाउण्डेसन सञ्चालन गरी कुलतमा फसेकाहरूलाई परामर्श दिँदै आएका छन् ।