लक्ष्मीमार्ग । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ मा पर्ने कुइरी खोलामा फलामे पुल निर्माणका क्रममा व्यापक अनियमितता भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

पुल निर्माणका लागि सङ्घीय सरकारको १० लाख, बेलबारी नगरपालिकाको ७ लाख ४५ हजार र स्थानीय जनश्रम १ लाख ५२ हजार गरी १८ लाख ९७ हजार रुपैयाँ खर्च भएको बताइएको छ । तर, पुल निर्माण सम्पन्न नहुँदै निर्माण सम्पन्न भएको कागजपत्र तयार गरी रकम समेत निकासा भइसकेको पाइएको छ । सो स्थानमा एकातिर खोला बगेको छ भने पुल अर्कैतिर निर्माण गरिएको छ ।

२०७८ साल असार ३ गते निर्माण सुरु भई असार २३ गते निर्माण सम्पन्न भएको भनिएको पुलमा सूचना पाटीसमेत राखिएको छैन । कल्भर्ट निर्माण गरेजस्तो गरी करिब १ सय मिटरमा पर्खाल उठाएर त्यहीँमाथि फलामको पुल हालिएको छ, तर खोला भएको ठाउँतिर भने पर्खालसमेत निर्माण भएको छैन । स्थानीय बासिन्दाहरू पुल निर्माणमा व्यापक भ्रष्टाचार भएको तर, कसैले आवाज उठाउन नसक्दा र सम्बन्धित क्षेत्रबाट अनुगमन नहुँदा कुइरी खोलाको पुल अलपत्र बनेको बताउँछन् ।

बेलबारी नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष धनपति गौतम आफूलाई जानकारीसमेत नदिई पुल निर्माण गरेको र २ लाखको काम गरेर बाँकी रुपैयाँ झ्वाम पारेको आरोप लगाउँछन् । उनले सो पुल निर्माण गर्दा आफूलाई जानकारी समेत नदिई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले तोक आदेश दिई काम गर्न लगाएको बताए । उनले  पुल निर्माणमा व्यापक भ्रष्टाचार भएको आरोप लगाए ।

सोही पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विद्यापति अधिकारी भने पुल निर्माणमा अनियमितता नभएको बताउँछन् । उनले पुल निर्माण सम्पन्न गरी बजेटसमेत निकासा भइसकेको र नगरपालिकाका इन्जिनियरहरूले पुल निरीक्षण गरी पाससमेत गरिसकेको बताउँछन् । उनले सूचना पाटी राखेको भए पनि स्थानीयले नै च्यातेर फ्यालेको दाबी गरे । उनले पुल निर्माणमा राम्रो काम भएको दाबी गरे ।

pull-belbari