धरान । सुनसरीको सीमावर्ती गाउँपालिका बर्जु गाउँपालिका ६ नम्बर वडास्थित चिमडीमा भएको आगजनी र तोडफोडको घटनापश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार छानबिन समिति गठन गरेको छ ।

भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव नआउने आयोजकले सूचित गरेपछि टिकट काटेर सबेका स्थानीयले आगजनी र तोडफोड गरेका थिए । सोही घटनालाई लिएर जिल्ला प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरी सदस्य छन् ।

समितिले पाँच दिनभित्र घटनास्थलमा भएको विषयबारे प्रतिवेदन बुझाउने भएको छ । बुधबारदेखि नै समितिले काम गर्न सुरु गरेको छ । बर्जु घटनाबारे पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गाउँपालिका दोषी भएको जनाइएको छ ।

प्रशासनले दिएको निर्देशनलाई अटेर गर्दाको परिणाम आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । प्रजिअ यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफूखुसी महोत्सव सञ्चालनमा ल्याएको बताए । महोत्सव रोक्न लिखित र मौखिक जानकारी गराए पनि गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीको हठका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । 

त्यसक्रममा चार वटा भारतीय नम्बर प्लेटको स्कार्पियो, एक थान मोटरसाइकलमा आगजनी भएको थियो भने स्टेज तोडफोड पनि भएको थियो । आगजनी र तोडफोडमा उत्रिएपछि दुई दर्जनभन्दा बढी घाइते बन्न पुगेका थिए । त्यसक्रममा प्रहरीले भीडलाई हटाउनका लागि १५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।