इनरुवा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सरकार लकडाउनको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

मन्त्री खतिवडाले विगतको पाठ सिकेर अघि बढेको वर्तमान सरकार जनताको पक्षमा रहेको भन्दै गरिखाने बाटो बन्द गर्ने पक्षमा आफूहरू नरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय सुनसरी आएका मन्त्री खतिवडाले ओमिक्रोनको सामना गर्न सरकार सक्षम रहेकोसमेत बताए । सो क्रममा उनले पर्याप्त स्रोत, साधन उपलब्ध रहेकाले ओमिक्रोनसँग जुध्न सरकार सक्षम रहेको बताए ।

ओमिक्रोन यसअघिका भेरियन्टभन्दा कमजोर रहेको बताएका मन्त्री खतिवडाले स्वयम् सावधानी अपनाउनसके आइपरेको समस्याबाट सहजै पार पाउन सकिने धारणा राखेका छन् । उनले कोरोनाको सम्बन्धमा अवस्था हेरेर स्थानीय प्रशासनले आफूपायक निर्णय लिन सक्नेसमेत बताए ।

सबैलाई खोप दिलाउने लक्षमा अघि बढेको सरकार पूर्ण खोप लगाएकाको हकमा बुस्टर डोजमा पुगेको भन्दै मन्त्री खतिवडाले बालबालिकाको लागि समेत छिट्टै कोरोना खोप उपलब्ध गराइने बताएका छन् । उनले कोरोनाको बढ्दो सङ्क्रमणको अवस्थालाई मनन् गरेर स्थानीय तहले सोही अनुरूपको तयारी थाल्नु पर्नेसमेत बताए ।

यता कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुखहरूले भने आर्थिक अभावमा आफूहरू निरीह बनेको मन्त्रीसमक्ष बताएका छन् । कार्यक्रममा अधिकांशजसो स्थानीय तहका प्रमुखले विगतका कोरोनाको समयमा सरकारले उपलब्ध गराउने भनेको रकम आफूहरूले नपाउँदा अब थप व्ययभार बेर्होन नसक्ने बताएका छन् । उनीहरूले रकम उपलब्ध भए आफूहरू सोही अनुरूप तयारीमा जुट्ने भन्दै अन्यथा केही गर्न सक्ने अवस्था नरहेको बताए ।

स्थानीय तहका प्रमुखहरूको गुनासोका सम्बन्धमा मन्त्री खतिवडाले वास्तविकता बुझी सरकारका तर्फबाट हुने सहयोगका सम्बन्धमा अविलम्ब पहल गरिने बताए ।

कार्यक्रममा कोरोनाको तेस्रो लहरसँगै चालिएका रोकथामका उपायका बारेमा प्रजिअ इन्द्रदेव यादवले जानकारी गराएका थिए भने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जिल्लाको कोभिडको विगत र वर्तमानसँगै चुनौती र समाधानका विषयमा प्रस्तुतीकरण गरेका थिए ।