भद्रपुर । पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि सीमा नाकामा मानिसको चाप ह्वात्तै बढेको छ । झापाको मुख्य नाका काँकडभिट्टा र दोस्रो भद्रपुर नाकामा भीडभाड बढेको हो ।

नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्दै गएपछि पूर्व तयारी अपनाउने क्रममा  कडाइ गर्दै व्यवस्थित गर्न खोजे पनि नेपाल–भारत आवत–जावतमा व्यवस्थित हुन सकिरहेको छैन ।

नेपालबाट भारत जानेभन्दा पनि भारतबाट नेपाल आउनेको सङ्ख्या उच्च रहेकोले मेची पुलमा सवारी साधन र मानिसको घुइँचोका कारण समस्या देखिएको छ । दुवै निकायका प्रहरी परिचालन भए पनि सो क्षेत्रमा कुनै स्वास्थ्य मापदण्ड अपनाएको देखिएन । मेची पुल हुँदै हेल्थ डेस्कसम्म आउनका लागि मानिसको लाइन खचाखच छ ।

काम विशेषले आवत–जावत भइरहे पनि नाकामा नै खोप लगाउन पाइने भएपछि टाढा–टाढाबाट मानिस आउन थालेपछि झन् समस्या बढेको खटिने स्वास्थ्यकर्मीको भनाइ छ ।

naka-jhapa

भारतको पानीट्याङ्की जाने बहाना गर्दै खोप लगाउन आएपछि भीडभाड बढेको स्वास्थ्यकर्मी हरिचरण सापकोटाले बताए । आवत–जावत गर्ने मानिसलाई सम्झाउँदा उल्टै गाली खानु परेको उनको भनाइ छ । भीड बढेपछि मङ्गलबारबाट भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई मात्र खोपको व्यवस्था गरेको उनले बताए ।

दुई दिन यताबाट नाकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको उनले जनाए । सापकोटाले दिएको विवरणअनुसार २३ गते ७३ जनामा गरिएको एन्टिजेनमा ७ जना, २४ गते ५२ मध्ये २ जनामा पोजेटिभ भेटिएको छ भने २५ गते १ सय १२ मध्ये १४ र २६ गते ९५ जनामा गरिएको परीक्षणमध्ये १४ जना पोजेटिभ फेला परेपछि नाकामा सतर्कता आवश्यक देखिएको उनको भनाइ छ ।

भारतबाट आउने सवारी साधनलाई एकै लाइनमा राखेर चेकजाँचमा कडाइ गरिए पनि मेची भन्सार कार्यालयबाट चेक जाँचमा खटिएका कर्मचारी भने सामान ल्याउनेसँग घूस उठाउन व्यस्त देखिन्थे ।

कर्मचारीको आँखा पत्रकारमाथि परेपछि रकम नलिई सवारी पास भएका थिए । सीमामा कडाइ गरे पनि पेशेवर व्यापारीलाई भने खुकुलो पारेको देखिएको छ । यता भद्रपुर नाकामा भने ज्वरो नाप्ने थर्मल गनमात्र देखियो । दैनिक आवत–जावत चारसयको सङ्ख्या रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

केही दिनपछि एन्टिजेन परीक्षण हुने विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ । विदेशी नागरिकको हकमा ७२ घण्टाको पिसिआर रिपोर्ट वा डोज पूरा गरेको खोप कार्ड वा एन्टिजेन रिपोर्ट अनिवार्य गरिएको छ । नेपाली नागरिकको हकमा कुनै कागजात नभए पनि नेपालमै खोप लगाएर एन्टिजेन परीक्षण गरी पठाइनेछ ।