पोखरा । याक्थुङ (लिम्बू) ले सामूहिक रूपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् ।

हरेक वर्ष मनाउँदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् । संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बूले पोखरा रहेका याक्थुङहरू भेला भएर उधौली पर्व मनाउँदै आएको बताए । उनले भने, ‘यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।’

उनका अनुसार किरातले उधौली पर्व अन्नबाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नबाली लगाउने समयमा मनाउने गर्दछन् ।

कास्कीमा लिम्बू समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उनले भने, ‘यो चुम्लुङ खोल्नुको उद्देश्य भनेको हाम्रो भाषा, लिपि, संस्कृति र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।’ पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाचहरू समावेश गरिएको थियो । 

‘हामीले यो पर्वमा च्याब्रुङ नाच नाच्छौँ’, उनले भने, ‘यसमा १९ चराको नक्कल गरेर कथाअनुसार नाच्ने प्रचलन रहेको छ ।’ समुदायका अग्रज मदन इङ्नाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बूलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताए । 

-रासस