धरान । ट्राफिक सचेतना प्रदान गर्ने उद्देश्यले प्रदेश १ का चौध जिल्लामा सप्ताहव्यापी कार्यक्रम आइतबारबाट सुरु भएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको संयुक्त आयोजनामा आगामी पुस १० गतेसम्म सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी कार्यक्रमको उद्घाटन हरेक जिल्ला जिल्लामा गरिएको छ । त्यसक्रममा धरानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको समन्वयमा झाँकीसहितको र्याली आयोजना गर्दै कार्यक्रम सुरु भएको छ ।
धरान १२ स्थित पब्लिक माविको खेल मैदानबाट सुरु भएको झाँकीसहितको र्याली छाताचोक, महेन्द्रपथ हुँदै रत्नरोड, पुरानो बजार, माछाभौडी हुँदै कार्यक्रम स्थल धरानको भानुचोकमा आई टुंगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर भूवनबाबु खड्काले जानकारी दिए । प्रमुख अतिथि धरान उपमहानरपालिकाका प्रमुख तिलक राईले ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई हेलमेट लगाई दिई कार्यक्रमको उद्घाटन गरे । उनले ट्राफिक न्यूनीकरण र व्यवस्थापनका लागि सबै नागरिक जवाफदेही हुनुपर्ने बताए । ‘ट्राफिक प्रहरी उभिएर मात्रै ट्राफिक न्यूनीकरण सम्भव हुँदैन, सबैजना जवाफदेही हुने हो भने मात्रै ट्राफिक समस्या न्यूनीकरण हुुन्छ’ उनले भने ।
कार्यक्रमका अर्का अतिथि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ट्राफिक व्यवस्थापन सबैको सरोकारको क्षेत्र रहेकाले सबैले चासो दिनुपर्ने बताए । उनले १० वटा मुख्य मृत्युका कारणमध्ये ८ औं नम्बरको मृत्यु ट्राफिकबाट हुने गरेको बताए । त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्ण सुवेदीले सडक अनुशासन चालकले गरेर मात्रै नपुग्ने त्यसका लागि सडक प्रयोगकर्ता सबैले अनुशासन कायम गर्न आवश्यक रहेको बताए ।
पूर्वप्रहरी एलबि कार्कीले ट्राफिक सचेतनासम्बन्धी कविता वाचन गर्दै जनमानसलाई सजग गराए । कार्यक्रमको समापन गर्दै १ नम्बर प्रदेश संघीय प्रहरी कार्यालयका प्रमुख एसएसपी गोविन्दकुमार साहले ट्राफिक व्यवस्थापन सबैको दायित्व हो भनेर बुझिदिन आग्रह गरे । सबैले अनुशासन कायम गरिदिने हो भने मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । ‘प्रहरीले मात्रै अनुशासन कायम गरेर हुँदैन, त्यसका लगि सबैले आफ्नो दायित्वबहन गर्नुपर्छ’ उनले भने ।
कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिकका प्रमुख इन्स्पेक्टर भूवनबाबु खड्काले गरेका थिए । उनका अनुसार हरेक दिन धरानमा विभिन्न कार्यक्रम तय गरिएको बताए । भोलिबाट (सोमबार) चोकहरूमा सचेतनामूलक पर्चापम्पेट वितरण गरिँदै छ । त्यस्तै फुटपाथ र पार्किङ व्यवस्थापन, चालक, परिचालकलाई प्रशिक्षक, भिडभाड हुने स्थलमा सचेतनामूलक कार्यक्रम, र अन्त्यमा कार्यक्रमको समीक्षासहित अन्तरक्रिया गरिँदै कार्यक्रमको समापन गरिने उनले बताए ।