खोटाङ । खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्याङ्क हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १०७ महिला र एक हजार ६८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । 

सरकारले गत साउन र भदौमा गरेको लकडाउन यता पनि रोजगारीका लागि विदेश जान अत्यधिक संख्यामा श्रम स्वीकृति लिएको पाइएको हो । दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९ औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७÷७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक  रोजगारीको सिलसिलामा बाहिरिएका छन् । कोरोना महामारीकै बीचमा पनि खोटाङका १०४ महिलासमेत वैदेशिक रोजगारीका लागि विदेशिएको राईले जानकारी दिए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय बासिन्दाको घरका युवाशक्ति वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेको पाइएको छ । यतिसम्म कि एउटा घरका बुबा, छोरीछोरी तथा बुहारी गरी पाँचजनासम्म वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । 

पहाडी भूभाग रहेको जिल्लामा जीवन निर्वाहमुखी खेतीभन्दा अन्य आम्दानीको स्रोत नभएपछि रोजगारीको सिलसिलामा विदेशिनुपर्ने बाध्यता रहेको विदेश जाने युवा बताउँछन् । वैदेशिक रोजगारीमा गएका परिवारको आर्थिक अवस्थासमेत सुदृढ हुँदै गएको सामी परियोजनाले जनाएको छ । 

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने काम गरिरहेको सामीमा वैदैशिक रोजगारसँग सम्बन्धित नौं उजुरी परेका छन् । खोजी तथा उद्धारमा पाँच, मृत्यु भएकाकोे शव झिकाइदिन एक, आर्थिक सहयोगका लागि दुई तथा मेनपावरले दुःख दिएकामा एउटा उजुरी परेको हो । 

विगत चार महिनाको अवधिमा वैदेशिक रोजगारसम्बन्धी जानकारी लिन दिक्तेलस्थित सूचना केन्द्रमा महिला १८२ र पुरुष ४६१ आएका आएका छन् । वैदेशिक रोजगारीमा गएका घरपरिवारका महिला सदस्यलाई सामीले वित्तीय साक्षरतासम्बन्धी ज्ञान तथा सीप दिँदै आएको छ ।