बिर्तामोड । अर्जुनधारा नगरपालिकाको फाल्गुनन्द स्मृति प्रतिष्ठानलले धार्मिक पर्यटन स्थल तयार पारेको छ । धार्मिक पर्यटनलाई प्रर्वद्धन र विकास गर्ने उदेश्यले नमुना सामाुदायिक वन क्षेत्रभित्र ‘किरातेश्वर हाङसाम थेवा युमा माङहिम’ धार्मिक स्थलको निर्माण गरेको हो ।

नमुना सामुदायिक वन समिति र स्थानीय सरोकारवालको सहमतीमा किरातेश्वर हाङसाम थेवा युमा माङहिम स्थापना गरिएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।

आयोजक समितिका कोषाध्यक्ष खगेन्द्र इङनामका अनुसार बहुधार्मिक पर्यटकीय पहिचान बनाउन सुरु गरेको नमुना सामुदायिक बन क्षेत्रमा बिभिन्न जातजाती र धर्मावलम्वीहरुको धार्मिक आस्थाका मन्दिरहरु निर्माण भईसकेको छ । २०७४ सालमा निर्माण सुरु गरिएको माङहिम २०७५ सालमा सम्पन्न भएको छ ।

माङहिममा किरात समुदायका आस्थाका धरोहर महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक बनाईको छ । उक्त शालिकको अनावरण र माङहिमको उद्घाटन मंसिर २६ गते नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्राहाङमाले गर्ने कार्यक्रम तय भएको आयोजक समितिका प्रचारप्रसार समिति संयोजक लवकुश गौतमले बताए ।

किरात धार्मिक क्षेत्रमा मुल मन्दिर, महागुरुको शालिक, धुनी कुण्ड, पुजारी आश्रम, मूलगेट, शौचालय, घेराबारा लगायतको भौतिक संरचना निर्माण गरिएको छ । उक्त धार्मिक क्षेत्र निर्माणको लागि नेपाल सरकारबाट २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र दाताहरुबाट उठेको २५ लाख गरि जम्मा ५० लाखको लागतमा निर्माण सम्पन्न भएको मुल आयोजक समितिका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

२६ गते हुने कार्यक्रमलाई भव्य बनाउन समितिले विभिन्न कार्यक्रमहरु तयार पारेकोे छ । धर्मगुरुहरुलाई स्वागत गर्नको लागि माईखोलाबाट र्याली सहित ल्याउने तयारी गरेको छ । आयोजकले विभिन्न उपसमितिहरु पनि बनाएको छ ।

उपसमितिहरुको संयोजकमा प्रचारप्रसार तथा स्वमंसेवक परिचालन लवकुश गौतम, अतिथि एवम् दानवीर दाता सत्कार शेरबहादुर इङनाम, खाद्यन्न व्यवास्थापन तिलकसिंह लिम्बू, पूजा सामग्री तथा प्रसाद व्यवस्थापन फिपराज कुरुम्वाङ, कार्यक्रम स्थल व्यवस्थापन मोहन सुब्बा, अनुगमन उपसमिति संयोजकमा लक्ष्मी इङनामलाई चयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।