सङ्खुवासभा । जिल्लाको सभापोखरी गाउँपालिकाको प्रशासकीय भवनको काम सुरु भएको वर्ष दिनदेखि अलपत्र परिरहेको छ । भवन निर्माणकै सुरुवातमा गुणस्तर नभएको भन्दै स्थानीयले सच्याउन माग गर्दै ठेकेदार कम्पनी र गाउँपालिकालाई ध्यानाकर्षण गराउँदै आएका थिए ।
सुस्त गतिमा भइरहेको निर्माण कार्य गएको माघदेखि ठेकेदार काम छोडेर बेखबर भएपछि अलपत्र परेको हो । आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले विनियोजन गरेको अनुमानित ३ करोड बजेटबाट बोलपत्र खुलाई भवन निर्माणको प्रक्रिया सुरु भएको थियो । उक्त ठेक्का आव्हानबाट २ करोड २५ लाखमा ठेक्का पारेका वल्र्डवाईड एण्ड एसपि जेभी एक वर्षदेखि बेखबर भएसँगै अलपत्र परेको निर्माणाधीन भवनका विषयमा गाउँपालिका मौन जस्तै छ ।
ठेकेदार कम्पनी, गाउँपालिकाको प्राविधिक, कर्मचारी र जनप्रतिनिधिसम्मको मिलेमतोमा कमसल समान र स्टीमेटमा समेत कमजोरी भएको स्थानीयले आरोप लगाएका छन् । पटक पटक छलफल तथा विरोध जनाए पनि ठेकेदार कम्पनीले जबरजस्ती काम अगाडी बढाएको स्थानीय भीम शिंथा लिम्बुले बताए ।
भवन निर्माण गर्दा पुराउनुपर्ने सामान्य मापदण्डसमेत नपुराएको भन्दै गाउँपालिकाभित्रका विभिन्न राजनैतिक दलहरूले समेत सुधारेर काम अगाडी बढाउन अनुरोध गरेको थियो । जसलाई समेत बेवास्ता गर्दै कमसल सामाग्री प्रयोग भएको भन्दै गाउँपालिका बासीले निर्माण स्थलमा नै गएर गत वर्षको माघदेखि काम रोकेका थिए । काम रोकिएसँगै ठेकेदारले वास्ता गर्न छोडे भने गाउँपालिका पनि मौन रहेको स्थानीय सुजन राईले बताए ।
गुणस्तरीय भवन निर्माण गर्नु सबैको दायित्व रहेको भन्दै पटक पटक आफूहरूले गाउँपालिका र ठेकेदार कम्पनीलाई खबरदारी गर्दै आएको राईले बताए ।
यता गाउँपालिका प्रशासकीय अधिकृत प्रकाश मगर गाउँपालिकाले ठेक्का प्रक्रिया पुरा गरेर अगाडी बढाइएको योजना सुरु भएपछि स्थानीयले विरोध जनाएपछि स्थगित गरेको बताउँछन् । उनले गाउँपालिकाको प्रशासकीय भवन निर्माणका विषयमा छानबिन तथा छलफल गर्नको लागि स्थगित गरेको बताए । तर कुनै पनि प्रक्रिया भने अगाडी बढाउन नसकेको र गुणस्तरीय भवन निर्माणमा आफू कटिबद्ध रहेको बताए ।
स्थानीयले गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण कार्य सुरु गरे पनि पूर्णता दिन नसक्नु लज्जास्पद रहेको बताउँदै आएका छन् । गुणस्तरीय भवन निर्माणको लागि गाउँपालिकाले कम्पनीसँग परामर्श गरेर काम सम्पन्न गर्नुपर्ने माग गरिरहेका छन् । भवन निर्माणमा प्रयोग भएका निर्माण सामाग्रीहरू नै कमसल लगाएको आरोप लागेका कम्पनी बेखबर हुनु र यसमा गाउँपालिकासमेत मौन हुनु निन्दनीय छ ।