पथरी । मोरङ कानेपोखरी गाउँपालिकामा आगामी पुस ४ गते देखी मतदाता नामावली सङ्कलन गरिने भएको छ ।
मतदाता नामावली संकलनका लागि स्थानीय सहयोग, समन्वय तथा प्रचार प्रसार समितिको शुक्रबार बसेको बैठकले गाउँपालिकाको कार्यालयमा सङ्कलन स्थान राखेर प्रत्येक वडाको अलग–अलग रूपमा मतदाता नामावली सङ्कलन गरिने भएको हो ।
समिति संयोजक तथा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि सहितको बैठकले पुस ४ गतेदेखि सङ्कलन गर्ने निर्णय गरेको थियो । पुस ४ र ५ गते वडा नम्बर ६, पुस ६ र ७ गते वडा नम्बर ७, पुस ८ र ९ गते वडा नम्बर ५, पुस १० र ११ गते वडा नम्बर ४, पुस १२ र १३ गते वडा नम्बर २, पुस १४ र १५ गते वडा नम्बर ३ र पुस १६ र १७ गते वडा नम्बर १ मा वडावासीका लागि मतदाता नामावली सङ्कलन गरिने भएको छ ।
ती दिनहरूमा छुट हुनेका लागि पुस १८ गते नामावली सङ्कलन हुनेछ । मतदाता नामावलीको त्रुटि सच्याउन, ठेगाना सार्न र बाहिरी जिल्लाका नागरिकहरूले नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने निर्वाचन कार्यालयले उल्लेख गरेको छ ।
प्रदेश निर्वाचन कार्यालयको पत्रानुसार १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिका साथै सो उमेर भन्दा माथिका मतदाता नामावलीमा नाम छुट व्यक्तिहरूका लागि पुस ४ गते देखी १७ गते सम्म फोटो सहितको मतदाता नामावली सङ्कलन गरिने निर्णय भएको छ ।
सङ्कलन कर्ताले बिहान १० बजे देखी ४ बजे सम्म मतदाता नामावली सङ्कलन गर्नेछ । मतदाता नामावलीको लागि चाहिने कागज सङ्कलन नागरिकता, विवाहित महिलाले विवाह दर्ता, बसाई सरी आएको भए बसाइसराइको प्रमाण पत्र लिई स्वयम उपस्थित हुनु पर्ने पत्रमा उल्लेख छ ।